Trending :
 

शीर्ष स्थानको चेन्नाईलाई पुछारको मुम्बईले हरायो

जितसँगै दुइ स्थान सुधार गरेको मुम्बई इण्डियन्स अहिले छैटौं स्थानमा

बैशाख १६,२०७५

-

१६ वैशाख, काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएको खेलमा शीर्ष स्थानको चेन्नाई सुपरकिंग्सलाई पुछारमा रहेको मुम्बई इण्डियन्सले ८ विकेटले पराजित गरेको  छ । जितसँगै दुइ स्थान सुधार गरेको मुम्बई इण्डियन्स अहिले छैटौं स्थानमा छ ।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको चेन्नाई सुपरकिंग्सले निर्धारित २० ओवरमा ५ विकेट गुमाउदै १६९ रन बनायो । चेन्नाईका लागि सुरेश रैनाले सर्वाधिक ७५ बनाउदा अम्बाडी रायडुले ४६ तथा महेन्द्र सिंह धोनीले २६ रन बनाए ।

 मुम्बईका लागि मिचेल म्याकलिगेनले र क्रुनाल पान्ड्याले २/२ तथा हार्दिक पान्ड्याले १ विकेट लिए ।

जवाफी ब्याटिंगमा आएको मुम्बई इण्डियन्सले १ सय ७० रनको लक्ष्य २ बलअघि नै मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाउँदै नटआउट रहे । मुम्बईलाई अन्तिम दुई ओभरमा २२ रन चाहिएको बेला रोहितले १९ औं ओभरमा चार चौका हानेर टिमलाई जित दिलाए । उनी प्लेयर अफ दी म्याच भए ।

त्यस्तै सूर्यकुमार यादवले ४४ तथा इविन लुइसले ४७ रन जोडे ।

बलिङतर्फ चेन्नाईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए ।

सातौं खेलमा चेन्नईको यो दोस्रो हार हो भने ७ खेल नै खेलेको मुम्बईको भने यो दोस्रो जित हो । चेन्नाई ७ खेलबाट १० अंकसहित पहिलो स्थानमा कायमै छ ।