आर्थिक प्रसङ्ग
बैशाख १०,२०७४
-
१०,२०७४,वैशाख,काठमाडौँ-
देशभर देखिएको इन्धनको अभाबमा सहजता आएको छ। नेपाल आयल निगमको अनुसार इन्धन अभाबको समस्या आइतबारबाट पुर्णरुपमा समाधान हुने जनाएको छ I शनिवार मात्र निगमले तिन लाख पचास हजार लिटर पेट्रोल वितरण गर्यो भने अभाव हटाउन आइतबार झन्डै दोब्बर परिमाणमा पेट्रोल वितरण गर्ने तयारी गरेको छ ।
निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले मागभन्दा बढी परिमाणमा इन्धन वितरण गर्ने योजना कार्यान्वयनमा आएपछि बजारमा इन्धन अभाव हट्ने दाबी गर्नुभयो । तराई बन्द हुने हल्ला चलेपछि आम उपभोक्ताले घरमा इन्धन भण्डारण गरि राख्नाले बजारमा अभाब सिर्जना भएको उहाँको तर्क छ I यसका साथै निगमले उपत्यकामा इन्धन अभाव हटाउन शुक्रबारदेखि नै भैरहवा डिपोबाट दैनिक ६० हजार र अमलेखगन्जबाट दुई लाख लिटर पेट्रोल राजधानी भित्र्याइरहेको छ ।
उपत्यकामा पेट्रोलको दैनिक माग चार लाख ५० हजार लिटर भए पनि बिहीबार पाँच लाख लिटर, शुक्रबार सात लाख लिटर, शनिबार तीन लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको थियो । आइतबार आठ लाख लिटर वितरण गर्ने योजना रहेको छ। त्यसो त पछिल्लो पटक वैशाख १ र २ गते सार्वजनिक बिदाका कारण निगमले इन्धन आयात नगर्दा त्यसको प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नु परेको हो । सार्वजनिक बिदाका कारण उक्त दुई दिन निगमले भारतबाट इन्धन पनि आयात गरेको थिएन र बजारमा पनि पठाएको थिएन । यस कारण इन्धनको चरम अभावको अवस्था सिर्जना भयो । निगमले सार्वजनिक बिदासँगै शनिबार र भारतमा आइतबार सार्वजनिक बिदापर्ने भएकोले इन्धन आयात गर्दैन I
निगमले प्राविधिक नोक्सानीको नाममा कुल भण्डारण क्षमताको ४० प्रतिशतको हाराहारीमा मात्रै इन्धन भण्डारण गर्दा समयसमयमा सानो अवरोध हुँदा पनि लामो दिनसम्म इन्धनको अभाव हुने गरेको छ । निगमसँग हाल १० स्थानमा करिब १५ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर (सात करोड १५ लाख ५८ हजार लिटर) क्षमताको भण्डारण गृह छ । निगमसँग अहिले पेट्रोल पाँच हजार एक सय ३५, डिजेल ४१ हजार ६ सय १०, मट्टीतेल १६ हजार तीन सय १४ र हवाई इन्धन (एटीएफ) आठ हजार चार सय ९९ किलोलिटर मौज्दात गर्ने क्षमता छ । वर्तमान भण्डारणलाई पूर्णक्षमतामा सञ्चालन गर्ने हो भने डिजेल १५ दिन र पेट्रोल तीन दिन मात्रै पुग्छ ।
प्रमुख समाचार