Trending :
 

बायर्नलाई हराउदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

सेमिफाइनलको अर्को खेलमा आज राति लिभरपुल र रोमा भिड्दै ।

बैशाख १९,२०७५

-

१९ वैशाख, काठमाडौं

रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्न सफल रियल समग्रमा ४-३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो । पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो ।

रियलको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो । जोशुआ किमिचले पहिलो हाफको तीन मिनेटमै गोल गरेर वायर्नलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता वायर्नले धेरै समय जोगाउन भने सकेन । रियल मड्रिडका लागि करिम बेन्जिमाले खेलको ११ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

पहिलो हाफमा थप गोल हुनसकेन र पहिलो हाफको खेल १-१ को बराबरीमा सकियो ।

तर दोस्रो हाफको सुरुवातमै बायर्नका डिफेन्डरले दिएको व्याकपास गोलकिपर उलरिचले समाल्न नसक्दा बेन्जिमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए र रियललाई २-१ को अग्रता दिलाए ।  खेलको ६३ औं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलमा वायर्न बराबरी गर्न सफल भयो ।

रियलको घरेलु मैदानमा वार्यन हावी भए पनि हार टार्न भने सकेन । बलमाथि ६० प्रतिशत नियन्त्रण जमाएको वायर्नले रियलको पोष्टमा लगातार आक्रमण गरेको थियो । तर, रियलका गोलरक्षक केइलोर नावासले उत्कृस्ट बचाऊ गर्दै गोललाई धेरै पटक जाली चुम्न बाट जोगाए ।

सेमिफाइनलको दोस्रो लेगको अर्को खेलमा आज राति लिभरपुल र रोमाबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५-२ ले हराएको थियो ।

फाइनल खेल भने मे २६ मा युक्रेनको किएभमा हुनेछ ।