Trending :
 

आर्थिक प्रसङ्ग

माथिल्लो तामाकोसीको काम तोकिएको समय अगावै पुरा गर्न कुलमानको निर्देसन

बैशाख १०,२०७४

-रासस

 

१०,२०७४,वैशाख 

काठमाडौँ - नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलबिधुत  आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन पुनः निर्देशन दिनुभएको छ ।

 

सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन दिनुभएको हो । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको मा समयभन्दा अगावै सम्पन्न गर्न प्राधिकरणले उपाय खोजिरहेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गर्न के के उपाय अपनाउन सकिन्छ,भन्ने विषयमा तयारी गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । मन्त्री शर्माको सो निर्देशनपछि माथिल्लो तामाकोसी जलविधुत  आयोजना सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका घिसिङले आयोजनामा प्रमुख लगानी गर्ने साझेदारको बैठकसमेत आयोजनास्थलमा नै राख्नुभएको प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

 

आयोजनाको हाल भौतिक प्रगति करिब ८८ प्रतिशतको हाराहारीमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शर्माको पटक पटकको स्थलगत अनुगमनका कारण पनि पछिल्लो दिनमा आयोजनाको भौतिक प्रगति उच्च भएको हो । विद्युत् आयातलाई कम गर्न महत्वपूर्ण मानिएको माथिल्लो तामाकोसी आयोजना गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दी नभएको भए यतिखेर सञ्चालनमा आइसक्ने अनुमान थियो ।

आयोजनाको सुरुको लागत रु ३५ अर्ब रहे पनि नाकाबन्दी र भूकम्पका कारण लागत रु ४१ अर्ब पुगेको छ । प्रवक्ता न्यौपानेले आयोजनालाई सहजरुपमा अगाडि बढाउने र तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउन के के गर्न सकिन्छ भनेर कार्यकारी निर्देशक घिसिङले आवश्यक निर्देशन दिनुभएको जानकारी दिनुभयो । रासस