Trending :
 

पुटिनविरुद्ध रुसमा प्रदर्शन, एलेक्सी नावाल्नी पक्राउ

बैशाख २३,२०७५

प्रदशनकारीलाई पक्राउ गर्दै रुसी प्रहरी

-

२३ बैशाख, २०७५

रुसी सरकारले भ्रष्टाचारविरुद्धका अभियन्ता एलेक्सी नावाल्नीसहित सयौंलाई पक्राउ गरेको छ ।

पुटिनले चौथो पटक राष्ट्रपतिको कार्यभार सम्हाल्न लागेको विरोधमा राजधानी मस्कोमा भएको एक प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नावाल्नी पक्राउ परेका हुन् ।

पुटिनले सोमबारबाट चौथो पटक राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन् । त्यसको विरोधमा रुसमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागी सयौंलाई नियन्त्रणमा लिइएको छ । एक मानवअधिकार समूहका अनुसार एक हजारभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । त्यसमध्ये करिब पाँच सय जना राजधानी मस्कोबाट पक्राउ परेका छन् ।

प्रदर्शनकारीले राजधानी मस्को र रुसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गमा पुटिनविरुद्ध र्‍याली निकाल्न खोजेका थिए । प्रशासनले भने त्यसलाई अनुमति दिएको थिएन । तर सयौं पदर्शनकारी मस्कोस्थित पुश्किन चोकमा भेला भएर पुटिनविरुद्ध नारा लगाएका थिए ।

यसैबीच पुटिनको समर्थनमा पनि रुसमा र्‍याली निकालिएको छ । नेशनल लिबरेशन मुभमेन्टले पुटिनको समर्थनमा त्यही ठाउँमा र्‍याली निकाल्यो जहाँ विरोधीहरुले र्‍याली निकाल्न अनुमति मागेका थिए ।

को हुन् एलेक्सी नावाल्नी ?

रुसमा पुटिन विरोधी जुनसुकै प्रदर्शन हुँदा पनि पहिलो नाम एलेक्सी नाबाल्नीकै आउँछ । उनी कुनै निर्वाचित नेता होइनन् । उनी भ्रष्टाचारविरुद्धका अभियन्ता हुन् । उनले लामो समयदेखि भ्रष्टाचारको विरोधमा आवाज उठाउँदै आएका छन् ।

सन् २०११ को संसदीय चुनावपछि नाबाल्नीले पुटिन र उनका सहयोगीविरुद्ध प्रदर्शनको नेतृत्व गर्दै आएका छन् ।

यसै वर्ष पुटिनविरुद्ध उनी चुनाव लड्न खोजे पनि उनलाई रोक लगाइएको थियो । किनभने उनलाई दुर्व्यवहारको आरोपमा दोषि ठहर्‍याइएको थियो । यद्यपि, नाबाल्नीले यसलाई अस्वीकार गर्दै आएका छन् र त्यसलाई राजनीतिबाट प्रेरित भएको बताउँदै आएका छन् ।