Trending :
 

विकल्प दिने कि ?

फुटपाथबाट ब्यापारी हटाउदै महानगरपालिका , जफत भएका सामान फिर्ता नहुने

बैशाख २३,२०७५

-

२३ बैशाख, २०७५

काठमाडौं महानगरपालिकाले साँझको समयमा समेत फुटपाथ अतिक्रमण गरेर ब्यापार-व्यवसाय सञ्चालन गर्न नदिने भएको छ । दिउँसोको  समयमा केही कडाइ गरे पनि महानगरपालिकाले साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक्ने गरेको थिएन ।

शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था आएको भन्दै महानगरपालिकाले  साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको बताए । उनले बेलुकी ६ देखि १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न  नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए ।

‘नगर कार्यपालिकाले यस विषयमा निर्णय गरिसकेकको छ । यात्रु हिँड्ने फुटपाथमा कुनै पनि समयमा ब्यापार गर्न नदिने गरी कडाइ गर्दैछौं ,’ प्रवक्ता कार्कीले भने,’आवागमनमा असर पर्ने गरी फुटपाथ अतिक्रमण गर्नेलाई हुने कारवाही पनि अब कडा किसिमको हुन्छ ।’

उनकाअनुसार अहिलेसम्म फुटपाथमा ब्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको थियो । अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइएको बताए ।

अहिले काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार मौलाएको छ ।

जनवीविकासँग जोडिएको सवाल भएकाले महानगरपालिकाले फुटपाथको ब्यापार हटाउन सजिलो छैन । अहिले फुटपाथमा पसल राख्न दिएर महानगरका नगर प्रहरी र महानगरका कर्मचारीले हप्तावारी बुझ्ने गरेका छन् । हरेक ब्यापरीले त्यसरी बुझाउने गरेका पैसा महानगरका उच्च अधिकारीसम्म पुग्ने गरेको छ ।

महानगरको पछिल्लो निर्णयले साँच्चिकै फुटपाथ अतिक्रमण रोकिन्छ कि झनै महानगरका कर्मचारी  र प्रहरीको हप्तावारी असुली बलियो हुन्छ हेर्न बाँकी छ ।