बैशाख २६,२०७५
-
२६ बैशाख , २०७५ (बीबीसी)
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणिक सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । बराक ओबामाको कार्यकालमा गरिएको उक्त सम्झौताबाट अलग्गिँदै उनले यसलाई महत्वहीन बताएका छन् । स्थानीय समयानुसार मंगलबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको हितमा नभएकोसमेत बताए ।
उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण रहेको भन्ने उसको भनाइ झुटो भएको जनाए ।
ट्रम्पले सन् २०१५ मा जब इरानसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्धमा जुन सहुलियत दिएका थिए, त्यसलाई अब खारेज गर्दै इरानी सरकारविरुद्ध कडा नाकाबन्दी लगाउने एउटा आदेशमा हस्ताक्षर गर्ने बताए ।
ट्रम्पको यो कदम उनका युरोपेली सहयोगी र अन्य केही सल्लाहकारका सुझावविरुद्ध हो ।
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले पारमाणविक सम्झौताबाट हट्ने अमेरिकी निर्णयलाई आफूले पूर्ण समर्थन गरेको बताए ।
इरानका राष्ट्रपति रुहानीले ट्रम्पको उक्त निर्णयलाई कडा शब्दमा विरोध गरेका छन् ।
अमेरिकाको यो कदमको जवाफमा इरानले आफूले परमाणु ऊर्जा र हतियार दुबैका लागि आवश्यक छ यूरोनियम सम्बर्धनको काम पुनः सुचारु गर्ने तयारी गरिरहेको बताए ।
रुहानीले भने, ‘अमेरिकाले पुष्टि गरिसकेको छ कि ऊ बचनबद्ध छैन । त्यसकारण मैले आणविक ऊर्जा संगठनलाई यूरेनियमको औद्योगिक स्तरमा सम्बर्धनको काम सुरु गर्न आदेश दिइसकेको छु ।’
आफ्ना सहयोगी र पारमाणविक सम्झौतामा संलग्न अन्य देशसँगको कुराकानीका लागि केही हप्ता प्रतिक्षा गर्नेसमेत उनले बताए ।
यता अमेरिकाले इरानमाथि पुनः आर्थिक प्रतिबन्ध तत्काल नलगाउने बताएको छ । यसका लागि अमेरिकाले ९० वा १ सय ८० दिन प्रतिक्षा गर्ने बताइएको छ ।
सन् २०१५ को सम्झौतामा चर्चा गरिएका उद्योगमाथि प्रतिबन्ध लगाइनेछ ट्रम्पले बताएका छन् ।
यसमा इरानको तेल क्षेत्र, विमान निर्यात, बहुमुल्य धातुको व्यापार र इरानी सरकारको अमेरिकी डलर खरिद गर्ने कोसिस समावेश छ ।
इरानसँग भएको पारमाणविक सम्झौतामा संलग्न रहेका फ्रान्स, जर्मनी र ब्रिटेनले अमेरिकाको यो निर्णयप्रति खेद प्रकट गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पारमाणविक सम्झौताबाट बाहिरिने अमेरिकाको निर्णयमाथि अफसोस व्यक्त गरेका छन् ।
उनले भने, ‘इरानसँग म यो विषयसँग जोडिएको व्यापक महत्वपूर्ण विषयमा कुराकानी गर्नेछु जसमा इरानको हतियार कार्यक्रम र मध्यपूर्वमा स्थिरता सम्बन्धी विषय समावेश हुनेछ ।’
युरोपेली संघको विदेश मामलाका प्रमुख फेडरिक मोघेरिनीले संघ परमाणविक सम्झौतालाई सुरक्षित गर्नका लागि प्रतिबद्ध भएको बताए ।
ट्रम्पको उक्त निर्णय प्रति अमेरिकाका पूर्व विदेशमन्त्री र सम्झौताका लागि भएको कुराकानीमा संलग्न जोन केरीले ट्वीटरमा भनेका छन्, ‘केही वर्ष अघि संसारसामू जुन चुनौती थिए, यो कदमले हामीलाई त्यही स्थानमा पुर्याएको छ ।’
सन् २०१५ को जुलाईमा ओबामा प्रशासनमा भएको उक्त सम्झौताका अनुसार इरानमाथि हतियार खरिद गर्न पाँच वर्षको प्रतिबन्ध लगाएको थियो साथै मिसाइल प्रतिबन्धको समयसीमा आठ वर्ष निर्धारण गरेको थियो ।
त्यसको बदलामा इरानले आफ्नो पारमाणविक कार्यक्रमको ठूलो हिस्सा बन्द गर्यो र बचेको भागको निगारानी अन्तर्राष्ट्रिय निरिक्षकलाई गराउने विषयमा सहमती जनाएको थियो ।
सम्झौतामा हस्ताक्षर गर्ने ब्रिटेन, फ्रान्स र जर्मनीले राष्ट्रपति ट्रम्पसँग उक्त सम्झौताबाट नहट्न आग्रह गरेको थियो ।
यी देशले राष्ट्रपति ट्रम्पले जे सुकै निर्णय गरेपनि आफूहरु इरानसँग भएको तीन वर्ष पुरानो सम्झौतामा कायम रहने संकेत दिएका थिए ।
इरानका राष्ट्रपति हसन रुहानीले यदि ट्रम्पले पारमाणविक सम्झौतालाई समाप्त गरे अमेरिकाले ऐतिहासिक रुपमा पछुताउनुपर्ने चेतावनी दिइसकेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार