मोदीको सुरक्षाका लागि ८६ भारतीय कमाण्डो नेपालमा
-
वैशाख २६, २०७५ काठमाडौं ।
यही वैशाख २८ / २९ मा हुने दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि ८६ भारतीय कमाण्डो नेपाल आएका छन् । भारतीय कमाण्डोहरू मंगलबार काठमाडौं, जनकपुर र मुस्ताङ पुगेका छन् ।
यिनीहरू नेपालमा मोदीको सुरक्षार्थ खटिनेछन् । मंगलबार बिहान भारतीय वायु सेनाको कार्गो विमानबाट मोदीको प्रयोगका लागि २ ओटा बुलेटपु्रफ कार र बन्दोबस्तीका साथ ६१ जना कमाण्डो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका थिए ।
काठमाडौं आएका ६१ मध्ये १५ जना कमाण्डो आवश्यक सुरक्षका सामाग्रीसहित मुस्ताङ पुगिसकेका छन्।
बुद्ध एअरको विमानमार्फत् उनीहरु पोखरा हुदै मुस्ताङ पुगेका हुन् ।
अरु ४६ जना कमाण्डोहरू काठमाडौंमै छन् ।
काठमाडौंमा रहेका कमाण्डोहरूले मोदी बस्ने हायत होटल र कार्यक्रम स्थलको सुरक्षा अवलोकन गर्नेछन् । उनीहरू मोदी आएपछि मोदीको सुरक्षामा खटिनेछन् ।
नेपाल आएका भारतीय कमाण्डोले आवश्यक हातहतियार र बन्दोबस्तीको सामान उतैबाट ल्याएका छन् ।
मोदी वैशाख २८ गते बिहान भारतीय वायु सेनाको हेलिकप्टरमा बिहारबाट जनकपुर आउनेछन् । त्यही दिन काठमाडौं आउने उनी अर्को बिहान मुस्ताङको मुक्तिनाथ जाने छन् ।