Trending :
 

बार्सिलोनाको अपराजित यात्रा समाप्त : बनेन कीर्तिमान

बैशाख ३१,२०७५

-

३१ बैशाख , २०७५

ला लिगा अन्तर्गत हिजो लेभान्तेसँग ५-४ ले पराजित भएसँगै बार्सिलोना ऐतिहासिक उपलब्धि हात पार्नबाट चुकेको छ ।

हिजोको खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको लेभान्टेसँग ५–४ अन्तरले पराजित भएपछि बार्सिलोनाको पुरै लिग अपराजित रहदै उपाधि हात पार्ने  कीर्तिमान कायम गर्ने ऐतिहासिक अवसरबाट बार्सिलोना चुकेको हो ।

घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटिङको गोलमा अग्रता लिएको थियो । बोटेङले आधा घण्टा नबित्दै अग्रता दोब्बर पारे‌ । फिलिप कोउटिन्होले बार्सिलोनाको लागि पहिलो हाफको अन्तिम समयमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए ।

तर दोस्रो हाफको पहिलो मिनेटमा एनिस बार्ढिले गोल गर्दै घरेलु टोलीलाई फेरी दुई गोलको अग्रता दिलाए ।

त्यसको तीन मिनेटपछि बोटेङले ह्याट्रिक पुरा गर्दै लेभान्तेलाई ४-१ ले अघि बढाए । एक पछि अर्को गोल गर्दै आएको लेभान्तेका लागि ५६ औं मिनेटमा बार्ढिले गोल गर्दै टिमलाई ५-१ को अग्रतामा पुर्‍याए ।

त्यसपछि कोउटिन्होले ५९ औं र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेर खेलमा फर्किने प्रयास गरे। लुइस सुआरेजले ७१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर अन्तर ५-४ मा झारे । लियोनेल मेसीलाई विश्राम दिएको खेलमा थप गोल गर्न नसक्दा बार्सिलोना लिगमा पहिलो हार बेहोर्न बाध्य भयो ।

हालसम्म कुनै टोलीले त्यो कीर्तिमान काम गर्न सकेको छैन । ला लिगामा यो सिजन ३६ औं खेलसम्म अपराजित रहेको बार्सिलोनाले ३७ औं खेलमा हार बेहोर्यो र दुर्लभ कीर्तिमान कायम गर्न असफल रह्यो । अब बार्सिलोनाले एक खेल मात्रै खेल्न बाँकी छ ।