Trending :
 

गाजामा बालकसहित ५५ को मृत्यु

जेठ ०१,२०७५

-

जेठ १, २०७५ जेरुसेलम ।
 
संयुक्त राज्य अमेरिकाले आफ्नो दूतावास जेरुसेलम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा १२ वर्षीय बालकसहित कम्तीमा ५५ प्रदर्शनकारीहरूलाई गोली हानी हत्या गरेको  प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
 
प्यालेस्टानका अधिकारीका अनुसार उक्त हिंस्रक झडपमा कम्तीमा २ हजार ७ सय घाइते भएका छन् । जेरुसेलममा अमेरिकी दूतावासको उद्घाटनपूर्व उक्त हिंसा भएको हो । दूतावासको विषयमा प्यालेस्टिनी नागरिकले विरोध जनाइरहेका थिए ।
 
प्यालेस्टिनीहरुले यसलाई जेरुसेलममा इजरायली कब्जालाई अमेरिकी समर्थनको रुपमा हेरिरहेका छन् । प्यालेस्टिनीहरु जेरुसेलमको पूर्वी इलाका आफ्नो भएको दाबी गर्दछन् तर सो शहर कहिले विभाजित हुन नदिने इजराइलले बताउँछ ।  
 
सोमबार अमेरिकाले जेरुसेलममा आफ्नो दूतावास खोलेको छ ।
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरु सो उद्घाटन कार्यक्रममा सहभागी भएका थिए  ।
 
दूतावास सार्ने अमेरिकी निर्णयको इजराइलले स्वागत गरेको छ तर त्यसले व्यापक अन्तर्राष्ट्रिय विरोध निम्त्याएको छ ।
 
 
 
जेरुसेलमलाई इजराइलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यतालाई प्यालेस्टिनीहरुले विरोध गर्दै आएका छन् ।
 
विगत ६ हप्तादेखि भएका व्यापक प्रदर्शनहरुको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ ।
 
ट्रम्पले उनको राष्ट्रपतीय चुनावी अभियानका क्रममा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसेलममा सार्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए ।
 
प्यालेस्टिनीहरुको नकबाः
 
सन् १९४८ मे १४ तारिखमा इजरायलको स्थापनाको समयमा विस्थापित भएका प्यालेस्टिनीहरुको सम्झनामा यहाँ हरेक वर्ष शोक मनाइन्छ जसलाई प्यालेस्टिनीहरुले नकबा भन्ने गर्दछन् ।
 
त्यसै सिलसिलामा प्यालेस्टिनीहरु हरेक हप्ता इजराइलीहरुको विरोधमा प्रदर्शन गरिरहेका थिए । जबदेखि यो विरोध प्रदर्शन सुरु भएको छ, थुप्रैको ज्यान गएको छ भने हजारौं घाइते छन् ।
 
हमासले विरोध प्रदर्शनको सिलसिला थप तीब्र बनाउने जानकारी दिएको छ ।
 
हाम्रा जनता आफ्नो पुख्र्यौली जमिनमा फर्कन पाउने अधिकारका लागि कस्तो संघर्षमा छन् भन्ने बारे संसारले थाहा पाउनेछ ।
 
गाजाका एक विज्ञान पढाउने शिक्षकले रोयटर्सलाई भने, ‘आज एउटा महत्वपूर्ण दिन भएको छ । आज हामीले सीमा पार गरेका छौं । हामीले इजराइल र संसारलाई यो बताउन सफल भएका छौं कि हामीमाथि यो कब्जा अब सधैंका लागि रहने छैन ।’
 
अमेरिकी दूतावासको मुद्दा यति विवादास्पद किन ?
 
जेरुसलेमको हैसियतसम्बन्धी विवादको सोझो सम्बन्ध इजराइल(प्यालेस्टिनी द्वन्द्वसँग जोडिएको छ ।
 
इजराइल र प्यालेस्टाइन दुवैले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका 
छन् ।
 
जेरुसेलम शहरलाई इसाई, मुसलमान र यहुदीहरुले पवित्रस्थलका रूपमा मान्ने गर्दछन् ।
 
जेरुसलेममाथिको इजरेली सार्वभौमिकताले अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको छैन र सन् १९९३ मा भएको इजराइल (प्यालेस्टाइन शान्ति सम्झौताअनुसार जेरुसेलमको अन्तिम हैसियत भने शान्ति वार्ताका पछिल्ला चरणहरूमा मात्र छलफल हुनेछन् ।
 
सन् १९६७ मा भएको मध्यपूर्वी युद्धयता पूर्वी जेरुसेलम इजराइलको अधीनमा छ । सो क्षेत्रलाई उसले आफैँमा गाभेको छ तर ट्रम्पले सन् २०१७ को डिसेम्बरमा घोषणा नगरेसम्म कुनै पनि देशले जेरुसेलमलाई इजराइली भूमि भनेर मान्यता दिएका थिएनन् ।
 
सन् १९६७ यता इजरेलले झण्डै २ लाख यहुदीहरूको निम्ति पूर्वी जेरुसलेममा दर्जनौँ बस्तीहरू निर्माण गरेको छ ।
 
अन्तर्राष्ट्रिय कानुनअन्तर्गत ती बस्तीहरू गैरकानुनी मानिन्छन् तर इजरायलले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
 
जेरुसलेमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णय र दूतावास सार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको कदमलाई इजरेली यहुदीहरूले समर्थन गरेका 
छन् ।
 
अमेरिकी कदमलाई ‘वास्तविकतालाई दिइएको मान्यता’ भनेर टिप्पणी गरेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुका लागि यो कूटनीतिक जीत हो । एजेन्सी