सुन तस्करीमा जोडिएका ३० प्रतिवादीको पक्षमा बहस सकियो
-
जेठ १, २०७५ इटहरी ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जोडिएर पक्राउ परेका ३० जना प्रतिवादीको पक्षमा सोमबार ११ जना कानुन व्यवसायीको बहस सकिएको
छ ।
हराएको भनिएको ३३ किलो सुन कहाँ छ ? भन्ने प्रश्न गर्दै प्रतिवादीहरुलाई फसाइँएको दाबी गरेका उनीहरूले गरेका छन् ।
प्रतिवादीको पक्षमा वकालत गरेका कानुन व्यवसायीले सोमबार ‘सनम शाक्यको हत्यासँगै संगठित अपराध गरेको अभियोगमा निर्दोषलाई समेत फसाइएको दाबी प्रस्तुत गरे ।
प्रतिरक्षा बहसमा वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठ, योगेन्द्र न्यौपाने तथा अधिवक्ताहरू रामबहादुर राउत, अमर राउत, जनकप्रसाद फुयाँल, रमिता महर्जन, सुनीलकुमार सिंह, हरिनारयाण चौधरीले आफ्नो पक्ष निर्दोष रहेको दाबी इजलासमा प्रस्तुत भएका गरेका थिए ।
वरिष्ठ अधिवक्ता आचार्य र भट्टराई तथा श्रेष्ठले प्रहरी नायब उपरीक्षक प्रजित केसीको संलग्नता कहीँ कतै नरहे पनि कसैले बोलेकै भरमा बिनाप्रमाण अभियोग लगाइएको दाबी गरे ।
केसीसँगै अमरमान डंगोलको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले आफ्नो पक्ष घटनामा संलग्न नरहेकाले साधारण तारिखमा छाड्नुपर्ने आदेशको माग गरे ।
प्रहरी नायब उपरीक्षक सञ्जय राउतको पक्षमा बहस गर्दै अधिवक्ता रामबहादुर राउत र अमर राउतले कुनै व्यक्तिले गरेको फोन सम्पर्कलाई मात्रै आधार र प्रमाण मान्न नसकिने दाबी गरे ।
यसैगरी, सुनका लगानीकर्तामध्येका एक प्रतिवादी चाचाजी भन्ने महावीर गोल्यान अग्रवाल शाक्यको हत्या र सुनको कारोबारमा संलग्न भन्ने आधारबिना प्रहरीले पेस्तोल देखाएर अनुसन्धान गरेको दाबी वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपानेले गरेका थिए ।
यसअघि यतना दिएर बयान लिइएको भनेपछि सरकारी वकिलले बयान लिँदाको भिडियो रेकर्ड इजालसमा देखाउन खोजेका थिए । रेकर्डमा यातना दिएको नभेटिएपछि प्रतिवादी वकिलले भिडियो प्ले रोकेका थिए ।
उनकै पक्षमा अधिवक्ता जगनप्रसाद फुयाँलले नखाएको विष प्रहरीका कारण गोल्यानलाई लगाउन खोजिएको आरोप लगाए ।
अधिवक्ता रमिला महर्जनले सम्बीरमान तोलाङ्गे, अमरबहादुर थापा र बीरेन्द्रमान श्रेष्ठको पक्षमा बहस गर्दै सादा तारिख आदेश माग गरेकी थिइन् ।
प्रतिवादीमध्ये तोलाङ्गे र श्रेष्ठ थाई एयरलाइन्सका कर्मचारी हुन् भने थापा प्रहरी हवल्दार हुन् ।
अधिवक्ता महर्जनले थाई एयरका कर्मचारीको संलग्नता देखिने प्रमाण नभएको र प्रहरी सेवामा इमान्दार रहेका प्रहरी हबल्दार थापालाई अर्का प्रतिवादी बिष्णुबहादुर खड्काको आरोपकै भरमा अभियोग पुष्टि गर्न नमिल्ने दाबी गरिन् ।
यसैगरी, तोलाङ्गे र वीरेन्द्रमान श्रेष्ठको पक्षमा अधिवक्ता सुनीलकुमार सिंह र पुण्यप्रसाद लामाको पक्षमा अधिवक्ता हरिनारायण चौधरीले बहस गरेका थिए ।
आइतबारदेखि सुरु भएको बहसमा हालसम्म १६ जना कानुन व्यवसायीले प्रतिवादीको पक्षमा बहस गरिसकेका छन् ।
आइतबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमनकुमार श्रेष्ठ, राजु बस्नेत, यदुनाथ खनाल र उद्धब केसीले बहस गरेका थिए ।