प्रदेश नम्बर २ विकासको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली
-
जेठ १, २०७५ काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेलामा प्रदेश २ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेट गरेका छन् ।
ओलीलाई भेट्न पुगेका प्रदेश नम्बर २ का सांसदहरुको प्रतिनिधि मण्डलसँग उनले दुई नम्बर प्रदेश आफ्नो दृष्टिमा सधैं विकासको प्राथमिकतामा पर्ने बताए ।
भेटमा तराई, मधेशको शिक्षा, खानेपानी, सिंचाइलगायतका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री ओलीले बताएका थिए ।
प्रधानमन्त्री ओलीसँगको भेटमा दुई नम्बर प्रदेशका सांसदहरुले प्रदेशको समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह गरेका थिए ।
प्रदेश २ का सबै दलका सांसदहरुले समृद्धिका लागि ‘तराई–मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै सञ्चालन गर्न आग्रह गरेका थिए ।
पिछडिएको क्षेत्र भएकाले प्रदेश २ को विकासमा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद प्रदीप यादवले जानकारी दिए ।
सांसदहरुले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै संचालन गर्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरिएको प्रदेश २ बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले जानकारी दिए ।
उनले कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड नदिए तराई, मधेशमा भयावह अवस्था सृजना हुने कुुरातर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको बताए ।