Trending :
 

उत्तर कोरियाले गर्यो दक्षिण कोरियासँगको वार्ता रद्द

जेठ ०२,२०७५

-

जेठ २, २०७५ पानमुनजोम ।
 
उत्तर कोरिया र दक्षिण कोरियाबीच बुधबार हुने भनिएको उच्चस्तरीय शिखर वार्ता उत्तर कोरियाले रद्द गरेको छ । 
 
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाले बुधबारको वार्ता रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
 
 
अमेरिका र दक्षिण कोरियाबीच भइरहेको साझा सैन्य अभ्यास उक्साउने खालको रहेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।
 
यसैबीच आगामी जुन १२ मा हुने तय भएको किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तामा पनि संका उत्पन्न भएको केसिएनएले जनाएको छ । 
 
यस्तै अवस्था रहने हो भने वार्ताको वातारण बिग्रने चेतावनी उत्तर कोरियाले दिएको छ ।
 
सीमा क्षेत्रको डिमिलिट्राइज जोन, पानमुनजोममा उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच बुधबार वार्ता हुने तयारी थियो । उच्च स्तरीय शिखर वार्ता हुनेबारे गत साता दुई देशबीच सहमति भएको थियो ।
 
अप्रिल २७ मा भएको किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिचको वार्ताको फलो अपका रूपमा हेरिएको वार्ता उत्तर कोरियाले एक्कासी रद्द गरेको 
हो ।
 
बुधबार हुने वार्तामा दुवै देशका प्रमुख नेताबीच भएको वार्तामा बनेका सहमतिलाई अघि बढाउने विषयमा छलफल गर्ने तयारी थियो ।
 
पानमुनजोम कोरियाली प्रायद्विपको एउटा मात्रै त्यस्तो क्षेत्र हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सेनालाई देख्न पाइन्छ । यो क्षेत्रमा सन् १९५३ देखि युद्ध विराम लागू भएको बिबिसीले जनाएको छ ।
 
यसअघिको दुई देशीचको उच्चस्तरीय वार्तामा नेता किम र मुनले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउने विषयमा आफूहरु सहमत भएको बताएका थिए ।
 
वार्तामा सन् १९५३ को युद्ध विरामलाई शान्ति सम्झौतामा परिणत गर्ने सहमति समेत बनेको थियो ।
 
दक्षिण कोरिया र अमेरिकी सेनाले वर्षेनी गर्दै आएको संयुक्त सैन्य अभ्यास अहिले पनि गरिरहेको भन्दै उत्तर कोरिया रूष्ट भएको हो ।
 
अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडानु विमान अभ्यासमा छन् ।
 
सन् १९५३ मा भएको द्वीपक्षीय सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस प्रकारको युद्ध अभ्यास गर्दै आएका छन् । तर उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।
 
सन् २०१८ लागेसँगै दुई कोरिया तथा उत्तर कोरिया–अमेरिका सम्बन्धमा सुधारका संकेतहरु देखिएका थिए । तर, अहिले आएर वार्ता रद्द हुँदा फेरि दुई कोरियाबीच समस्या बढ्ने खतरा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी