Trending :
 

विश्व स्वास्थ्थ संगठनको चेतावनी: इबोला प्रकोप नयाँ चरणमा प्रवेश

जेठ ०४,२०७५

-

 जेठ ४, २०७५ कङ्गो । 
 
लोकतान्त्रिक गणतन्त्र कङ्गोमा देखिएको इबोला प्रकोप नयाँ चरण मा प्रवेश गरेको छ । यो रोगको एक नयाँ बिरामी १२ लाख जनसङ्ख्या भएको म्बन्डाका सहरमा देखिएको छ । 
 
बिहिबार यो प्राणघातक भाइरसको एक बिरामी उत्तर पश्चिम शहर म्बन्डाकामा पहिचान गरिएको थियो । म्बन्डाका सहर इबोला प्रकोप पहिलो पटक भेटिएको ग्रामिण क्षेत्रभन्दा १५० किमी टाढा रहेको
छ ।
 
बिहिबार कङ्गोका स्वास्थमन्त्री ओली इलुङ्गाले यो समाचार पुष्टि गरेका छन् ।
 
पहिले इबोला प्रकोप कङ्गोको केन्द्रमा रहेको ग्रामिण क्षेत्र इकोको इम्पेनगेमा मात्र सिमित रहेको मानिएको थियो । 
 
“हामी इबोला प्रकोपको नयाँ चरणमा आइपुगेका छौँ । यसले सहरी स्वास्थ क्षेत्र लगाएत तीन स्वास्थ्य क्षेत्रलाई प्रभाव पारिसकेको छ,” मन्त्री इलुङ्गाले जारी गरेको वक्तव्यमा भनिएको छ ।
 
विश्व स्वास्थ संगठनले हालैको हप्तामा कङ्गोमा भएको २३ मृत्यु इबोला भाइरसको कारणले भएको अनुमान गरेको छ । इबोल संक्रमणको हालसम्म कुनै प्रमाणित उपचार भेटिएको छैन ।
 
“आगामी दिनहरु र हप्ताहरुमा हामीले यो रोगका बिरामीहरुको सङ्ख्या बढ्ने अनुमान गरेका छौँ । त्यसैले हामीले हस्तक्षेपका लागि पहलकदमी बढाएका छौं । मैदानमा रहेका चिकित्सक समूहलाई बढी सहयोग र सामर्थ चाहिएको छ,” स्वास्थ मन्त्रालयकी प्रवक्ता जेसिका इलुङ्गाले भनिन् ।
 
प्रकोपलाई नियन्त्रण गर्नको लागि विश्व स्वास्थ संगठनले लोकतान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ मन्त्रालयसँग समन्वय गरिरहेको छ । प्रकोपको विकसित नयाँ अवस्थाले अन्तर्रा्ष्ट्रिय स्तरमा पार्ने असर बारेमा विचार गर्नको लागि विश्व स्वास्थ संगठनले आज आकस्मिक वैठक आह्वान गरेको छ ।
 
स्वास्थ अधिकारीहरुले नयाँ अवस्था चिन्ताजनक भएको बताएका छन् ।
“यो निक्कै चिन्ताजनक विकासक्रम हो । शहरी क्षेत्रमा प्रकोप नियन्त्रण गर्न कठिन हुन्छ । किनकी सहरी क्षेत्रमा ग्रामिण क्षेत्रमा भन्दा मानिसहरुको सम्पर्क धेरै जनासँग हुने सम्भावना हुन्छ,” विश्व स्वास्थ संगठनका प्रवक्ता तरक जसरेभिकले भने ।
 
एक संक्रमित व्यक्तिको प्रति दिन १०० देखि १५० बीचमा मानिसहरुसँग सम्पर्क हुने अनुमान छ । जसरेभिकका अनुसार यो दर बाक्लो बस्तीमा अझ बढी हुन्छ ।
 
 
विश्व स्वास्थ संगठनले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा परिक्षणको लागि कुल ७,५४० खोपहरु पठाउँदैछ । त्यस मध्य ४,३०० खोपहरु राजधानी किन्शासामा आइपुगिसकेको छ । 
 
इबोला भाइरस शरीरमा प्रबेश गरेपछि संक्रमित व्यक्तीको विभिन्न अङ्गहरु फेल हुन थाल्दछ । संक्रमित व्यक्तिको नाक, मुख र फुटेको छालाबाट निस्केको रगत वा अन्य तरल पदार्थको माध्यमबाट इबोला भाइरस अन्य मानिसहरुमा सर्दछ । 
 
“निश्चित रुपमा हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय समूदायमा डर फैलाउन खोजेको होइन । तर सहरमा प्रकोप तीब्र गतिमा फैलिन सक्छ,” विश्व स्वास्थ संगठनमा आपतकालिन तयारीका उप–महानिर्देशक पिटर सलमाले भने ।
 
म्बन्डाका कङ्गोको व्यस्त यातायात कोरिडोरमा पर्छ । त्यसले पनि इबोलाको फैलावट तीव्र गतिमा हुने हो कि भन्ने डर बढाएको छ । एजेन्सी