नासाले मंगल ग्रहमा हेलिकप्टर पठाउँदै
-
बैशाख २९, २०७५ नासा ।
अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले मंगलग्रहमा हेलिकप्टर पठाउने भएको छ । सन् २०२० मा ‘मार्स रोभर’ सँगै यो हेलिकप्टर पठाउन लागिएको हो ।
तर नासाले पठाउन लागेको यो हेलिकप्टर पृथ्वीमा उडाइनेजस्तै सामान्य हेलिकप्टर भने होइन ।
अन्तरिक्ष पठाउन लागेको हेलिकप्टरको डिजाइन गर्न नासाका वैज्ञानिकहरुले ४ वर्ष बिताइसकेका छन् । उक्त हेलिकप्टरको आकार सफ्टबलजत्रो हुनेछ भने तौल १.८ किलोग्राम मात्र हुनेछ ।
यो हेलिकप्टरको दुई ओटा पंखा एक मिनेटमा ३ हजार पटक घुम्छ, जुन पृथ्वीमा उड्ने हेलिकप्टरहरुको भन्दा १० गुणा बढी हो ।
उक्त हेलीकप्टर मंगलग्रहको वायुमण्डलमा उडाउनका लागि तयार गरिएको हो । मंगलको वायुमण्डल पृथ्वीको भन्दा एक सय गुणा पातलो छ । नासाले यसलाई ‘हावाभन्दा गह्रौँ’ विमान भनेको छ ।
सन् १९८० को दशकमा सोभियत वैज्ञानिकहरुले शुक्रको वायुमण्डलमा दुई ओटा बेलुन छोडेका थिए । अन्य ग्रहको सतहबाट हालसम्म कुनै विमान उडाइएको
छैन ।
मंगलको सतहबाट उडाइने यो हेलिकप्टर भविष्यको अन्तरीक्ष विज्ञान, मंगलग्रहको खोज र अनुसन्धानका लागि ठूलो कोशेढुंगो बन्ने आशा नासाले लिएको छ । यसलाई हेलिकप्टर भनिए पनि यसमा चालक रहनेछैन । पृथ्वीभन्दा ५ करोड ५० लाख किलोमिटर पर उड्ने यसका लागि रिमोट कन्ट्रोलले पनि काम गर्नेछैन । यो स्वचालित हुनेछ ।
यो हेलिकप्टरले मंगल ग्रहमा काम नगरे पनि नासाको मंगल अभियान प्रभावित हुने छैन । मंगलमा अहिलेसम्म पठाइएका वाहनहरु जमिनमा मात्र गुड्ने छन् जसलाई त्यहाँको उबडखाबड सतहले अवरोध गर्ने गर्छ । स्पिरिट रोभर भनिने यस्तै एउटा वाहन सन् २००९ मा मंगलको सतहमा अड्किएको थियो । पछि त्यसको उर्जा सकिएपछि त्यो त्यहीँ बन्द भएको थियो ।
२०२० को जुलाइमा प्रक्षेपण गरिने यो हेलिकप्टर र रोभर फेब्रुअरी २१ मा मंगलमा पुग्नेछ । एजेन्सी