Trending :
 

पाकिस्तानी जासूसी संस्थालाई सूचना चुहाएको आरोपमा ३ वर्ष जेल

जेठ ०६,२०७५

-

जेठ ६, २०७५ नयाँदिल्ली ।
 
पाकिस्थानस्थित इण्डियन हाई कमिसनमा काम गरेकी भारतीय पूर्व कुटनितिज्ञ माधुरी गुप्तालाई शनिबार तीन वर्षको जेल सजाय सुनाइएको छ । 
 
उनलाई हाई कमिसनमा रहँदा पाकिस्तानको जासुसी संस्था आइएसआईलाई संवेदनशील सूचना दिएको आरोपमा सो सजाय दिइएको हो । 
 
उनको कार्यले ‘ठूलो सुरक्षा खतरा’ निम्त्याएको भन्दै अतिरिक्त सेशन न्यायाधीश सिद्धार्थ शर्माले माधुरीलाई यस अपराधको लागि दिइने अधिकत्तम सजाय सुनाएका हुन् । 
 
जासुसी र कानुनी रुपमा सुरक्षीत गर्नुपर्ने सुचना गलत मान्छे वा सस्थालाई दिएको आरोप उनलाई लगाइएको छ । 
 
माधुरीले आफूलाई दिइएको सजाय कम गर्न माग गरेकी थिइन् । न्यायाधीसले उनी जस्तो शिक्षित मानिसलाई सजाय कम गर्न नसकिने भनेर उनको मागलाई  अस्वीकार गरे । 
 
माधुरीले आफू जेष्ठ नागरिक भएको, एकल महिला रहेको र परिस्थीतिको फन्दामा परेको कारण देखाएर सजाय कम गर्न माग गरेकी थिइन् ।
 
सजाय दिइसकेपछि भने अदालतले उनलाई सजाय कम गर्न अपिल गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
 
६१ वर्षे गुप्ता सन् २००७ देखि सन् २०१० अप्रिल २२ मा पक्राउ नपरेसम्म इस्लामाबादमा रहेको इण्डीयन हाइ कमिसनमा द्वितीय सचिव(प्रेस तथा सुचना) थिइन् । 
 
शुक्रबार उनलाई ‘अफिसियल सेक्रेट एक्ट’ अन्तर्गत विभिन्न प्रावधान अन्तर्गत सजाय दिइएको थियो । 
 
सन् २००८ देखि नै भारतीय जासुसी संयन्त्रले माधुरीले आईएसआईको लागि जासुसी गरिरहेको शंका गरेको थियो । 
 
सजाय दिने क्रममा अदालतले माधुरीको नाममा किनिएको ल्यापटप, ब्लाकबेरी मोबाइल जस्ता विभिन्न विद्युतीय सामाग्रीबाट आईएसआईको सम्पर्क सुत्रहरुलाई पठाइएको इमेलहरु प्रमाण उल्लेख गरेको थियो । एजेन्सी