Trending :
 

कञ्चनजंघा हिमालमा ११ जनाको सफल आरोहण

जेठ ०६,२०७५

-

जेठ ६,२०७५ ताप्लेजुङ ।
आइतबार बिहान ताप्लेजुङमा रहेको विश्वको तेश्रो अग्लो हिमशिखर ८ हजार, ५ सय ८६ मिटर उचाइमा रहेको कञ्चनजंघामा ११ जनाले आरोहण गरेका छन् । 
 
१२ जनाको टोली अन्तिम शिविरमा रहेका छन् । उनीहरु आरोहणको अन्तिम प्रयासमा रहेको जानकारी दिइएको छ ।
 
सफल आरोहण गर्ने मध्ये पाँच नेपाली र छ भारतीय छन् । उनीहरुले बिहान ८ बजेर १५ मिनेटमा आरोहण गरेको एसियन ट्रेक प्रालीका म्यानेजर सञ्जय बराल काजुले जानकारी दिए । 
 
काजुका अनुसार आरोहण गर्नेमा प्रालिका प्रबन्ध निर्देशक दावा छिरिङ शेर्पा लगायत रहेका छन् । अरु शेर्पाहरुको नाम आइनसकेको उनले बताए । भारतीय नागरिक भने निर्मल कुमार, पंकज जोशी, मोण्टीराज खोवा (महिला), पल्केश कल्मा, गौरव काडीया, योगेन्द्र गार्डियल र राहुल गार्नल रहेका छन् ।
 
आइतबारको मौसम सफा भएकाले सबैको आरोहण सफल हुने आशा गरिएको काजुले बताए ।
 
निर्देशक दावा छिरिङ आफैंले नेतृत्व गरेर टोली लिएर गएका थिए । यो सिजनमा यसअघि पाँच जनाले आरोहण गरिसकेका छन् । 
तीन विदेशी र दुई नेपालीले गत बुधबार साँझ आरोहण गरेर फर्किएका हुन् ।
 
उनिहरुले एक्सपीडिसन वेस र सेभेन समिट प्रालिबाट गएर आरोहण गरेका थिए । आरोहण गरेका र गर्न नसकेकाहरु शनिबार हेलिकप्टरबाट फर्किएका छन् ।
कञ्चनजंघामा छ वर्षपछि सफल आरोहण भएको हो । सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाको ज्यान गएको थियो । 
त्यसपछिका दुइवर्ष कसैले आरोहणको प्रयास नै गरेनन् । गत वर्ष १४ जनाले गरेको प्रयास असफल भयो । यो वर्ष ४४ जनाले आरोहण अनुमति लिएका छन् ।