आर्थिक प्रसङ्ग
बैशाख १२,२०७४
-
१२,वैशाख,२०७४-
यति एयरलाइन्सले आन्तरिक उडानमा ठुला बिमान भित्राउने तयारि गरेको छ I हाल ३० सिटे ‘जेटस्ट्रिम ४१’ विमानबाट सेवा प्रदान गरिरहेको यतिले तत्काल ७२ सिट क्षमताका दुईवटा एटिआर विमान किन्ने भएको छ।
यतिका मिडिया म्यानेजर भिमराज राईका अनुसार, पहिलो चरणमा दुईवटा एटिआर७२–५०० सिरिजका विमान ल्याउनको लागि अन्तिम तयारी भइरहेको र वैशाखभित्र पहिलो र जेठ महिनाभित्र दोस्रो एटिआर यति एयरको परिवारमा जोडिनेछन् I
संचालन खर्च घटाई बढीभन्दा बढी नाफा तथा सहज र सरल यात्रालाई शुनिश्चित गर्नको लागि यतिले एटिआर ल्याउन लागेको राईको भनाइ छ।नयाँ आउने ठुला बिमानले भद्रपुर ,भैरहवा, बिराटनगर,नेपालगंज र धनगढीजस्ता क्षेत्रमा उडान गर्नेछन्। हाल यही सिरिजका चारवटा विमान बुद्ध एयरले उडाइरहेको छ।
नयाँ आउने एटिआर ७२–५०० मा अधिकतम ७४ सिट हुन्छन् जसले गर्दा एयरलाइन्सको संचालन खर्च एकातिर घटाउने छ भने अर्कोतिर आन्तरिक उडानमा बढी सिट उपलब्ध हुनेछन्। यसबाट प्रतिस्पर्धा बढ्न गई अन्ततः यात्रुहरुले अझै लाभ लिनसक्ने एयरलाइन्सका अधिकारीहरुको विश्वास छ।
त्यसैगरी गएको वर्ष यति एयरलाइन्सले कूल १८ हजार उडानबाट चार लाख यात्रु बोकेको थियो। उडान संख्या जति भएपनि थोरै सिट क्षमताका विमानबाट धेरै यात्रु तथा व्यापार नहुँदा एयरलाइन्सले ठुला विमान किन्ने योजना बनाएको हो।
थोरै सिटर विमान धेरै सिटरबीचमा संचालन खर्चमा खासै भिन्नता नभएपनि व्यापारमा भने धेरै फरक पर्ने भएकोले ठुला विमान ल्याएपछि यतिले व्यावसायिक उन्नति गर्ने विश्वास लिएको जानकारी गरेको छ I
सन् १९९८ मा स्थापना भएको यतिले हाल भएका सातवटा जेटस्ट्रिम विमान भने विस्तारै विस्थापनको क्रममा लिने तयारी गरेको छ।
प्रमुख समाचार