८ महिनामा भारतबाट १ लाख ३८ हजार बढी मेट्रिक टन खाद्यान्न आयात
-
जेठ ८, २०७५ विराटनगर ।
नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि वर्षेनी भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ ।
चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ ।
सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३ हजार ४३ मेट्रिक टन मकै आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार घिमिरेले जानकारी गराए ।
सोही नाका भएर ३३ हजार ११८ मेट्रिक टन धान, २३ हजार १९५ मेट्रिक टन गहुँ र २८ हजार ७११ मेट्रिक टन चामल आयात गरिएको छ ।
सोही अवधिमा दुई हजार ५५९ मेट्रिक टन तरकारी, ६ हजार ३११ मेट्रिक टन आलु र ६ हजार २६० मेट्रिक टन प्याज आयात भएको कार्यालयले जनाएको छ । नौ हजार ४५१ मेट्रिक टन विभिन्न प्रकारका फलफूल पनि सोही अवधिमा आयात गरिएको छ । रासस