Trending :
 

१८ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

पुरानो साइकलदेखि गाई, बाख्रा र कुकुर पनि सम्पत्ति विवरणमा

जेठ ०९,२०७५

-

जेठ ९ , २०७५ काठमाडौं ।
 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित १८ जना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
 
मन्त्रिपरिषद् गठन भएको तीन महिनापछि कार्यालयले मन्त्रिपरिषद् सदस्यको सम्पत्ति सार्वजनिक गरेको हो ।
 
विवरणअनुसार  प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा तलबभत्ता वापतको ४२ लाख रूपैयाँ छ । 
 
ओलीकी पत्नी राधिका शाक्यका नाममा  बैंक खातामा १० लाख रूपैयाँ छ । शाक्यको नाममा नै भक्तपुरमा २ र झापामा १ घर  छन् । प्रधानमन्त्री ओलीसँग सुनका गहना  १८ तोला छन् ।
 
शाक्यले २५ लाख रूपैयाँ सेयरमा लगानी गरेकी छन् ।  झापाको पृथ्वीनगरमा रहेको १० कठ्ठा जमिन पनि उनकै नाममा छ ।
 
रक्षा मन्त्री ईश्वर पोखरेल झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा छ । टोखामा २३ आनामा बनेको घर श्रीमती मिरा पोखरेलको नाममा छ । उनको बैंकमा ७ लाख रुपैयाँ छ भने  व्यक्तिगत सवारीसाधन छैन ।
 
गृहमन्त्री रामबहादुर थापाको बैंक खातामा ३ लाख रूपैयाँ छ । त्यो रकम रेष्टुरेन्टको पार्टनरसिपबाट पाएको उनले उल्लेख गरेका छन् । थापासँग ६ तोला सुन छ भने माओवादी पार्टीका नाममा रहेको एउटा गाडी पनि छ । उनले आफूसँग रहेका २ कुकुरलाई पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
 
चितवनको १ कठ्ठा ३ धुर जग्गा उनकी पत्नी नैनकला थापाको नाममा छ ।
 
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुटवलमा भएको घर र जग्गा बेचेर काठमाडौंको शंखमुलमा २१ लाखमा किनेको छन् । उनले घर श्रीमतीका नाममा  राखेका छन् । ज्ञवालीसँग मात्र २ तोला सुन छ ।
 
पारिश्रमिक, पुस्तकको रोयल्टी र स्तम्भ लेखनबाट कमाएको २ लाख ५७ हजार ३८३ रूपैयाँ छ भने २५ सय पुस्तकलाई पनि उनले सम्पत्ति मानेका छन् ।
 
उर्जामन्त्री वर्षमान पुनसँग  रोल्पाको रोल्पा नगरपालिकामा घर छ ।
 
उनीसँग १५ तोला सुन छ। तलब भत्ताको तीन लाख पचास हजार बैंक खातामा 
छ ।
 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर छ भने ३ लाख ६७ हजार बैंक खाता जम्मा छ ।
 
रूपाकोट सामुदायिक एफएम खोटाङमा उनले  ५ हजारको सेयर हालेका छन् ।
 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको सिरहा र धनुषामा ४५ लाखमा किनिएका दुई घर छन् ।
 
सिरहा धनुषा र ललितपुर चाँपा गाउँमा झन्डै  एक करोड तीस लाखमा किनिएको जग्गा छ भने १६ तोला सुन छ ।  ७९ हजार ६ सय ९२ बैंक खातामा छ ।
 
भौतिक पूर्वधार तथा यातायात मन्त्री  रघुवीर महासेठको धनुषा र ललितपुरमा श्रीमतीका नाममा घर छ ।
 
मन्त्री महासेठको सिन्धुली, ललितपुर र धनुषामा जग्गा छ । उनको बैंक खातामा  ७२ लाख नगद छ । उनीसँग ५२ तोला सुन छ त्यसमध्ये २५ तोला सुन उनले दाइजो पाएका हुन् । उनकी श्रीमती  जुली महतोको नाममा ४० करोड २ लाख २० हजारको सेयर छ ।
 
श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टको  काठमाडौंमा ४० लाखमा किनेको घर छ भने गुल्मीमा २ वटा घर र दुईटा कटेरा छन् ।
 
उनीसँग सात तोला सुन छ ।
 
उनको खातामा ५४ हजार रूपैँया छ भने श्रीमती  प्रतीमा श्रेष्ठको बैंक खातामा ६ लाख ८२ हजार रुपैयाँ छ ।
 
उनीसँग गोरू २, भैंसी १,  गाई २  र बाख्रा ४ छन् ।
 
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको जाजरकोटमा १ घर छ ।
 
उनी चढ्ने स्कार्पियो गाडी नेकपा माओवादी केन्द्रका नाममा छ ।  उनीसँग नगद १५ लाख छ, बैंक खातामा २ लाख छ भने ७ तोला सुन, र  १० किलो  चाँदी  
छ ।
 
उनले दुईटा सहकारीमा तीन लाख १० हजारको सेयर  हालेका छन् ।
 
खानेपानी मन्त्री बीना मगरको चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा  तीन कठ्ठा जग्गा छ ।
 
उनीसँग ५ तोला सुन र १६ तोला चाँदी  छ तर उनको बैंकमा पैसा छैन ।
 
कृषि भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग कपिलवस्तु रूपन्देहीमा १५ कठ्ठा जग्गा छ । उनीसँग ६ तोला सुन छ भने बैंकमा ८ लाख १६ हजार रूपैया
छ ।
 
श्रीमतीको बैंक खातामा ६ लाख ८० हजार  छ भने १० लाख ३७ हजारको सेयर छ । उनकी श्रीमतीको नाममा स्कुटर पनि छ ।
 
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीका कास्की र काठमाडौंमा तीन वटा घर छन् ।  कास्कीमा उनको ९४.५ रोपनी जग्गा छ । मन्त्री अधिकारीसँग ६० तोला सुन ३० किलो चाँदी छ । उनको बैंक खातामा २४ लाख ५७ हजार रूपैयाँ छ भने तीस लाख २६ हजार सेयरमा लगानी गरेका छन् । उनी २० लाखको कार चढ्छन् ।
 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कठ्ठामा ५ कोठे घर छ । सर्लाही बसबरिया घरसमेत गरी चार बिघा  जग्गा छ ।
 
श्रीमती विमला पण्डितको नाममा ललितपुर भैंसेपाटीमा ४ आना जग्गा छ । श्रीमतीको नाउँमा १० तोला सुन र १५ तोला चाँदी छ । लालबाबुको बैंक खातामा २५ लाख र विमलाको खातामा ३० लाख रकम छ ।
 
उनले एउटा पूरानो साइकल पनि सम्पत्तिमा राखेका छन् ।
 
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको नाममा म्याग्दीको बेनी ८ मा सात रोपनी जग्गा छ । उनले आमाबाट सो जग्गा प्राप्त भएको उल्लेख गरेकी छन् । आमाले एक तोला सुन दिएको उल्लेख गरेकी उनले बैकमा १५ हजार रूपैयाँ रहेको विवरण पेश गरेकी छन् ।
 
अर्थमन्त्री युवराज खतिवडाको नाममा काठमाडौंमा पाँच आना जग्गा छ । श्रीमती कमला खतिवडाको नाममा १४ आनाका साथै श्रीमान् श्रीमतीको नाउँमा भक्तपुर, झापा, दोलखा  र काठमाडौंमा जग्गा रहेको छ ।
 
खतिवडासँग दश तोला सुन र एक किलो चाँदीका गहना छन् । खतिवडासँग एउटा कार छ ।
 
खतिवडाले सावल सहकारी संस्थाको ५ हजार शेयरका किनेका छन् ।  खतिवडाको खातामा १ करोड २४ लाख ९५ हजार नेपाली रूपैयाँ  भने नविल र सानिमा बैंकमा रहेको खतिवडाका खातामा  ६२ हजार ७ सय ३ अमेरिकी डलर छ ।
 
उनीसँग ८० हजारको रंगीन टीभी, ६५ र ८५ हजार मूल्यका दुइटा मोबाइल 
छन् ।
 
युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले कास्की पोखरा(लेखनाथमा दर्ता हुन बाँकी रहेको दुई रोपनी जग्गा दिलबहादुर सुनारको नाममा पैतृक सम्पत्ति देखाएका छन् ।
 
सावित्री सुनारको नाउँमा ललितपुरमा जग्गा तथा ५० तोला सुन रहेको छ । मन्त्री विश्वकर्माको बैंक खातामा १३ लाख बैंक ब्यालेन्स रहेको छ भने अञ्जुकुमारी विश्वकर्माको नाममा सात लाख बैंक ब्यालेन्स छ ।
 
दिलबहादुर सुनारको नाउँमा कृषि विकास बैंक चार हजार सेयर रहेको उनले उल्लेख गरेका छन् । 
 
कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उषाकला राईको नाममा काठमाडौं गोकर्णेश्वर ८ मा तीन रोपनी जग्गा र घर भएको विवरण बुझाएका छन् ।
 
सिन्धुपाल्चोक, मोरङ, खोटाङ, काठमाडौमा गरी उषाकला राई र शेरबहादुरको नाममा १२३ रोपनीभन्दा धेरै जग्गा रहेको छ ।
 
उनीसँग ३० तोला सुन छ भने बैंक खातामा एक लाख २८ हजार ९४२ रूपैयाँ छ।  उनले विभिन्न कम्पनीमा १५ लाखको सेयर किनेका छन् ।
 
उनीसँग कार र मोटरसाइकल पनि छ ।