अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण सार्वजनिक : मूल्यवृद्धि ६ प्रतिशत
-
जेठ १३, २०७५ काठमाडौं ।
आइतबार संसदमा डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष २०७४ र २०७५ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन् ।
डा.खतिवडाले प्रस्तुत गरेको सर्वेक्षणअनुसार चालू आवको मूल्यवृद्धि ६ प्रतिशत रहने देखिएको छ ।
आर्थिक वृद्धिदर चालू आवको ८ महिनामा ५.८३ प्रतिशत रहेकोमा आव अन्त्यसम्ममा ५.८९ रहने बताइएको छ ।
आर्थिक सर्वेक्षणअनुसार जिडिपीको १५ प्रतिशत रकम बचत रहेको छ । चालू आवको ८ महिनाको तथ्याङ्कलाई हेरेर निर्माण गरिएको उक्त सर्वेक्षणअनुसार ६० लाखभन्दा बढी जनता गरिबीको रेखामुनि छन् ।
सेयर बजार स्थिर रहेको र सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैकिङ क्षेत्रका कम्पनीले ओगटेको सर्वेक्षणमा उल्लेख छ । बैंक तथा वित्तीय संस्था कर्जा बृद्धिदरको तुलनामा निक्षेपको वृद्धिदर कम रहेको सर्वेक्षणले औंल्याएको छ । बैंकमा निक्षेप २४ खर्ब र कर्जा २२ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालू आवमा राजस्व बृद्धिदर बढे तापनि सरकारी खर्च समेत बढेकाले बजेट सन्तुलित हुन नसकेको जनाइएको छ ।
गत आवमा ३७ मध्ये २६ संस्थान नाफा कमाउन सफल भएको र ११ घाटामा गएको आर्थिक सर्वेक्षणले औंल्याएको छ । शोधानन्तर स्थिति ऋणत्मक देखिए पनि राज्यको ढुकुटीमा सञ्चित विदेशी मुद्राले १० महिनाको आयात धान्न सक्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।