आइपीएल फाइनलमा चेन्नाई र हैदरावाद भिड्दै
-
जेठ १३, २०७५ दिल्ली ।
इण्डियन प्रिमियर लिग(आइपीएल) को यस सिजनको फाइनलमा आज साँझ सवाँ सात बजे चेन्नाई सुपरकिंग्स र सनराइजर्स हैदरावाद भिड्दै छन् ।
चेन्नाईले यसअघि दुई पटक उपाधि हासिल गरेको थियो । पहिलो क्वालिफायरमा २०१६ को च्याम्पियन हैदरावादलाई हराएको पाँच दिनपछि चेन्नई पुनः फाइनलमा हैदरावादसँग खेल्न लागेको हो ।
गत मंगलबारमा लिग चरणको शीर्षमा रहेको हैदरावाद र दास्रोमा रहेको चेन्नाईबीच पहिलो क्वालिफायर भएको थियो ।
त्यसमा २०१० र २०११ को च्याम्पियन चेन्नाईले २ विकेटले हैदरावादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
आइपीएलको ९ सिजन खेलेको चेन्नाई यस सिजनसँगै फाइनलमा पुगेको सातौं पटक हो ।
यसबीच हैदरावादले भने दोस्रो क्वालिफायरमा कोलकता नाइट राइडर्सलाई १४ रनले पराजित गर्दै पुनः चेन्नाईसँगको भेट पक्का गरेको हो ।
चेन्नाई ४ दिनको आराम पश्चात फाइनल खेल्न लागेको हो तर हैदरावाद भने पछिल्ला ७ दिनमा फाइनलसहित तेस्रो खेल खेल्दैछ ।
चेन्नई र हैदरावादको यो खेललाई ब्याटम्यान भर्सेस बलरबीचको भिडन्तका रुपमा पनि हेरिएको छ ।
यस सिजनमा सर्वाधिक चार सय रन पार गर्ने चार ब्याट्सम्यान चेन्नाईका छन् । अब्बती राइडु(५८६), महेन्द्रसिंह धोनी(४५५), शेन वाटसन(४३८) र सुरेश रैना
(४१३)ले चार सय रनको आकँडा पार गरेका छन् । अन्य टोलीको भन्दा ब्याटिङ औषत(३५.०४) पनि बढी भएको टोली चेन्नाई हो ।
यस्तै, यससिजनमा चेन्नाइकै शेन वाट्सन(१०६) र अब्बति राइडु(१००) ले शतक प्रहार गरिसकेको छन्। वाटसनले राजस्थान रोयल्स र राइडुले हैदरावादकै विरुद्ध शतक प्रहार गरेका थिए।
प्रतियोगितामा सर्वाधि छक्का प्रहार गर्ने टोली पनि चेन्नाई हो । उसका ब्याट्सम्यानले यस सिजनमा १ सय ३५ छक्का प्रहार गरेका छन् । लक्ष्य पछ्याउने क्रममा सफल टोली पनि चेन्नाई देखिएको छ । लक्ष्य ९ खेलमा लक्ष्यको पिछा गरेको चेन्नाईले ७ खेलमा जित पारेको छ भने २ खेलमा मात्रै हार बेहोरेको छ ।
ब्याटिङमा चेन्नाई अब्बल देखिएजस्तै यस सिजनको बलिङमा हैदरावाद सफल टोली हो । हैदरावाद यस सिजनमा १०० विकेट लिने एक्लो टोली हो । उनीहरुको बलिङ औषत प्रतियोगितामा सर्वाधिक राम्रो(२४.२१) रहेको छ । यस्तै इकोनोमी रेट पनि ८ भन्दा तल(७.८९) हुने हैदरावाद एक्लो टोली हो ।
आफूले दिएको लक्ष्य बचाउदै जित हात पार्न पनि हैदरावादका बलरहरु माहिर देखिएका छन् । ८ खेलमा पहिले लक्ष्य दिएपछि हैदरावादका बलरहरुले ५ खेलमा जित दिलाएका छन् भने ३ खेलमा मात्रै हार बेहोरेका छन् ।
अफगानी स्टार रासिद खान हैदरावादको मुख्य बलर हुन् । पहिलो क्वालिफायरमा उनले चेन्नाईविरुद्ध ११ रनमात्रै दिएर २ विकेट लिएका थिए। यस्तै दोस्रो क्वालिफायरमा कोलकताविरुद्ध उनले अलराउण्ड प्रदर्शन गरे । जसमा ३ विकेट लिएका उनले १० बलमा ३४ रन पनि बनाएका थिए । त्यतिमात्रै हैन दुई क्याच लिएका उनले एक रनआउट पनि पारेका थिए ।
आज हुने खेलको विजेताले आइपीएलको यस सिजनको ट्रफीसहित ३२ करोड नेपाली रुपैयाँ पाउनेछ भने उपविजेता टोलीले २० करोड भारतीय रुपैयाँ पाउनेछन् ।