बैशाख १३,२०७४
--आस्थान्युज
श्री स्वस्थानी व्रतकथाअनुसार यस तीर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको हो । उक्त स्थानमा शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास रही आएको छ ।
अर्को किंवदन्तीअनुसार उक्त समयमा त्यहाँ घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नराखी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्किन नमानी आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनु भन्ने वाचाका साथ छोरालाई सम्झाएर फर्काइछन् । त्यसै बेलादेखि यस ठाउँको नाम मातातीर्थ रहेको हो । यसै दिन भक्तपुरका नेवार समुदायले भने भक्तपुरको हनुमानघाटमा गई मृत आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन रही आएको पाहिन्छ । साथै मातातीर्थ औँसीको दिन शिक्षादान गर्ने गुरुआमालाई र गुरुकी पत्नीलाई पनि आमा सरह यसैदिन सम्मान गर्ने प्रचलनमा रही आएको छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका महान् र कष्टपूर्ण काम सम्झने गर्दछन्।
प्रमुख समाचार