अल कायदाले दियो साउदी युवराजलाई चेतावनी
-
जेठ २१, २०७५ एजेन्सी ।
अरब प्रायद्विपको अल कायदाको शाखाले साउदी अरबका युवराज मोहम्मद विन सलमानलाई उनको ‘पापी परियोजना’को लागि चेतावनी दिएको छ ।
युवराज मोहम्मदले अत्यन्त रुढीबादी साउदी अरबमा विभिन्न नीतिगत परिवर्तनको नेतृत्व गरिरहेका छन् । यसमा सिनेमा हललाई पुनः सुचारु गर्ने, महिलाहरुमाथि गाडी चलाउन रहेको बन्देज हटाउने सुधारहरु प्रमुख छन् ।
“बीन सलमानको नयाँ युगमा मस्जीदहरुको ठाँउ फिल्म हलले लिएको छ,” यमनमा केन्द्रित रहेको अल–कायदाको उक्त शाखाले आफ्नो मदाद समाचार बुलेटिनमा राखेको एक विज्ञप्तिमा लेखिएको छ । यो विज्ञप्ती इन्टरनेटमा अतिवादी सामाग्रीको प्रचारको निगरानी गर्ने अमेरिकी गुप्तचरी सस्था ‘साइट इन्टीलिजेन्स ग्रुप’ले पहिचान गरेको हो ।
“उनले इमानका पुस्तकहरुलाई पूर्व र पश्चिमका नास्तिक र धर्म्निरपेक्षतावादीको बकवासले विस्थापित गरिदिएका छन् । यसले भ्रष्टता र नैतिक पतनको फराकिलो ढोका खुलेको छ ।” विज्ञप्तीमा भनिएको छ ।
यमनको जटिल युद्ध माझ अरब प्रायद्विपको अल–कायदाको शाखा मौलाएको छ । यमनको सत्ता कब्जा गरेर बसेको हुथी विद्रोहीहरुलाई निमिट्यान्न पार्नको लागि साउदी अरबले एक सैन्य गठबन्धनको नेतृत्व गरिरहेको छ ।
विज्ञप्तीमा अल–कायदाले यही वर्षको एप्रिलमा मक्काको नजिक रहेको जेद्हा शहरमा भएको डब्लुडब्लुई रेस्लिङ्ग खेलप्रति पनि विरोध जनाएको छ ।
वक्तव्यमा भनिएको छ “विदेशी अधार्मिक रेस्लरहरुले मुस्लिम युवा युवतीहरुको भीड अगाडी आफ्नो सामाग्रीहरु देखाए, जसमध्य अधिकाशंमा क्रसको संकेत थिए ।”
“भ्रष्टचारी त्यतिमै रोकिएको छैन, प्रत्यक रात प्रदर्शनका लागि साङ्गितिक कन्सर्ट, फिल्म र सर्कस प्रदर्शनीको घोषणा भइरहेको छ ।”
अरब प्रायद्विपको अल कायदाको शाखालाई अमेरिकाले अल कायदाको सबभन्दा उग्र शासा मानेको छ । उसले उक्त समूहको केन्द्र रहेको ठानिएको यमनको दक्षिणी भागमा लामो समयदेखि ड्रोन हमला गरि रहेको छ ।
सन् २०१४ मा यमनको राजधानी साना हुथी विद्रोहीहरुले कब्जा गरे पछि त्यहाँका राष्ट्रपति अब्दुल रब्बु मन्सुर हाडी भागेर साउदी अरब गएका थिए । त्यसको केही पछि नै साउदी अरबले शिया सम्प्रदायका हुथीहरुमाथि आक्रमण गरिरहेको छ ।
यो युद्धमा १० हजार मानिसहरुको मृत्यु भइसकेको छ, दशौं हजार नागरिक घाइते भएका छन् । संयुक्त राष्ट्र संघले यमनलाई गम्भिर मानिविय संकटको अवस्थामा रहेको घोषणा गरेको छ । एजेन्सी