Trending :
 

अर्जेन्टिनाले इजरायलसँग मैत्रीपूर्ण खेल नखेल्ने

चौतर्फी बिरोधका कारण शनिबार जेरुसेलममा हुने भनिएको खेल रद्द ।

जेठ २३,२०७५

-

२३ जेठ , २०७५

अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकपको पूर्व सन्ध्यामा अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो ।

तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको जानकारी दिएका छन्  ।

उनका अनुसार गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको हो । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ ।

ह्युगेनले खेल रद्द भएर राम्रो भएको बताएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको समाचार प्रसारण गरिरहेका छन् । इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।

वेष्ट ब्यांकको रमल्लाहमा प्यालेस्टाइन फुटबल एशोसियसनले लियोनल मेस्सीसहित अर्जेन्टिनी फुटबल टोलीको तस्वीरसहित पोस्टर टाँगेर खेल रद्द गर्न भनेको थियो ।

गत सोमबार एशोसियसनका अध्यक्ष जिबरिल रजोबले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई चिठी लेखेर मैत्रीपूर्ण खेलको विरोध जनाएका थिए ।

उनले अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरेका थिए । यसैगरी ७० जना बालबालिकाहरुको एक समूहले मेस्सीलाई पत्र लेखेर इजरायलसँग फुटबल नखेल्न अपिल गरेको थियो ।