Trending :
 

टर्कीमा एक हजार जनाभन्दा बढी पक्राउ

बैशाख १४,२०७४

-विविसी

वैशाख १४ -

टर्कीमा गत वर्ष सत्ता हत्याउने विफल प्रयासमा संलग्नता भएको आरोपमा एक हजार जनाभन्दा बढीलाई पक्राउ गरिएको छ।

प्रहरी बलमा एउटा गोप्य संरचना रहेको र त्यसका २,२०० सदस्यको खोजी भइरहेको अधिकारीहरुले बताएका छन्।

अमेरिकामा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनले सन् २०१६ को जुलाइमा राष्ट्रपति रेजेप तय्यीप एर्दोआनलाई सत्ताबाट हटाउन अभियान चलाएको सरकारले आरोप लगाउँदै आएको छ।

यसै महिनाको शुरुतिर राष्ट्रपतिको अधिकार बढाउने विषयमाथि भएको जनमत संग्रहमा एर्दोआनले जीत हासिल गरेका छन्।

भूमिका

झिनो मत अन्तरले जनमत संग्रहमा जीत हासिल गरेपछि राष्ट्रपति एर्दोआन कार्यकारी प्रमुख हुनेछन्।

७२ वटा प्रान्तमा १,००९ जना भूमिगत इमाम अर्थात धर्मगुरुहरुलाई हालसम्म नियन्त्रणमा लिइएको छ।

सुलेमान सोयलु, आन्तरिक मामिलामन्त्री

हाल टर्कीका राष्ट्रपतिको भूमिका धेरै हदसम्म आलङ्कारिक रहेको छ।

टर्कीका लागि कदम चालिएको भन्दै आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले भनेका छन्, "७२ वटा प्रान्तमा १,००९ जना भूमिगत इमाम अर्थात धर्मगुरुहरुलाई हालसम्म नियन्त्रणमा लिइएको छ।"

रिपोर्टहरुमा जनाइए अनुसार देशव्यापी कारबाहीका क्रममा टर्कीको प्रहरीले ८१ वटा प्रान्तका ३,२२४ जनाको सूची तयार पारेको छ।

तीव्रता

इस्तानबुलमा मात्रै ३९० जनाको खोजी भइरहेको छ।

बीबीसीका मार्क लोवेन भन्छन्, आफ्नो शक्ति बढाउने जनमत संग्रहमा जीत हासिल गरेपछि राष्ट्रपति एर्दोआनले सफाई अभियानमा तीव्रता दिने व्यापक रुपमा अनुमान गरिएको थियो।

उनी उत्साहित भएको देखिन्छ र जनमत संग्रहको नतिजा खतरामा पर्ने जोखिम अब रहेको छैन।

२४९ जनाको ज्यान लिएको विफल कूपछि सरकारले गुलेनको अभियानमा लागेकाहरुले प्रहरी, सेना र न्यायपालिकासहित गरी राज्यभित्र राज्य चलाउन खोजेको आरोप लगाउँदै आएको छ।