फाल्गुण २१,२०७३
-
काठमाडौं, २१ फागुन । काठमाडौंमा भएको ‘नेपाल लगानी सम्मेलन’ शुक्रबार सम्पन्न भएको छ शुरु । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न मुलुकले १४ खर्ब ३३ अर्ब रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलनमा सहभागी विभिन्न मुलुकका २ सय ४० लगानीकर्तामध्ये १६ लगानीकर्ताले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मुलुकको आर्थिक समृद्धिका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्राउने उद्धेश्यका साथ दुई दिनसम्म चालेको सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चीनले सबैभन्दा बढी ८ दशमलव ३ बिलियन डलर (८ खर्ब ३० अर्ब रुपैयाँ) बराबरको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्मेलनको समापनका अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले चीनपछि बंगलादेशले २ लशमलव ४ बिलियन डलर (२ खर्ब ४० अर्ब) लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको बताए । त्यस्तै, श्रीलंकाले ५० करोड डलर (५० अर्ब) लगानी गर्ने सीईओ अधिकारीले जानकारी दिए । नेपालले ठूलो लगानीको आशा गरेको भारतले भने ३१ करोड ७० लाख डलर (३१ अर्ब ७० करोड) बराबरको लगानीको प्रतिबद्धता गरेको छ ।
सम्मेलनमा नेपाली लगानीकर्ता ले ११ अर्ब ५० करोड रुपैयाँको प्रतिबद्धता जनाएका छन् । विदेशी लगानीकर्ताले गरेको लगानी सम्बन्धी प्रतिबद्धताबाट नेपाल उत्साहित भएको छ । यद्यपि यो प्रतिबद्धता मात्रै भएकाले यति नै लगानी आउँछ भन्ने निश्चित भने छैन । विगतमा पनि प्रतिबद्धता भए भन्दा निकै कम मात्रै लगानी हुने गरेको छ ।
सम्मेलनमा सरकारको अपेक्षाभन्दा १२ गुणा बढी लगानीको प्रतिबद्धता आएको हो । यस सम्मेलनबाट सरकारले मुलुकमा १ खर्ब रुपैयाँबराबरको लगानी भित्रिने आशा गरेको थियो ।
प्रमुख समाचार