प्रदेश ३ को सरकारद्धारा ३५ अर्बको बजेट प्रस्तुत
-
असार ३,२०७५ हेटौंडा ।
प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५र०७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलद्वारा पेस गरिएको राजस्व तथा व्ययको अनुमान (बजेट) मा चालूतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार र पुँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार विनियोजन गरिएको छ ।
पुँजीगततर्फ ६१ दशमलब ८ र चालूतर्फ ३८ दशमलब ९२ प्रतिशत रकम विनियोजन भएको हो ।
आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख, राजस्व बाँडफाँडबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार, ससर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोडबाट रकम विनियोजन गरिएको हो ।
मन्त्री ढुंगेलले ‘बजेटले लोककल्याणकारी राज्य व्यवस्थालाई प्रवद्र्धन गर्दै संघीय सरकारको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न’ सहयोग र्पुयाउने दाबी गरे । उनले बजेटले ‘समृद्ध नेपाल र सुखी नेपाली भन्ने राष्ट्रिय नारा’ सार्थक बनाउनसमेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सरकारले १ सय ५० भन्दा बढी आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना अध्ययनका लागि भन्दै रकम विनियोजन गरेको छ ।
प्रदेशका सयभन्दा बढी पूर्वाधारजन्य योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी परियोजना बैंकमा राखिने बजेटमा उल्लेख गर्दै आयोजनाहरूको डीपीआर गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
लामोसाँघुदेखि दोलखा जिल्लाको सिमानासम्म केबलकार सञ्चालन, धादिङलगायत सबै जिल्लाको जिल्लास्तरीय पर्यटन गुरुयोजना, पाँचखालमा सिँचाइ परियोजना, साँगा कृषि विश्वविद्यालय स्थापना, देवघाटदेखि गोलाघाटसम्मको नारायणी नदी किनारमा तटबन्धन र पर्यटन मार्ग निर्माण, रामेछापको खाँडादेवी अकलेश्वर र शैलुङसम्मको पर्यटकीय स्थलमा केबलकार निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा काठमाडौ रोप–वेलाई पर्यटकीय रोप–वेका रूपमा सञ्चालनलगायतका ५० आयोजनाको सम्भाव्यता अध्ययनका लागि स्रोतको बजेटमा प्रबन्ध गरिएको छ ।
सम्भाव्यता अध्ययन भएपश्चात ती आयोजनालाई क्रमशः कार्यान्वयन गर्दै लगिने बजेटमा उल्लेख छ ।