आषाढ ०६,२०७५
-
६ असार , २०७५
रसियामा जारी २१ औं संस्करणको विश्वकपमा आयोजक राष्ट्र रसिया प्रि-क्वाटरफाइनलको संघारमा पुगेको छ । गयराति सम्पन्न खेलमा इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेपछि रसियाले अन्तिम १६ मा स्थान लगभग पक्का गरेको छ ।
रसियाले विश्वकपको उद्घाटन खेलमा एशियाली राष्ट्र साउदी अरेवियालाई ५-० ले हराएको थियो । दुई खेलमा दुई जीतसँगै समूह ‘ए’ मा ६ अंक जोडेको आयोजक रसिया दोस्रो चरण प्रवेश नजिक छ । रसियाले उरूग्वेसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफमा इजिप्टले आत्मघाती गोल गरेपछि रसियाले खेलमा अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा इजिप्टका कप्तान अहमद फाथीले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेका थिए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा चेरिसिभले गोल गर्दै रसियालाई २-० को अग्रता दिलाए । दोस्रो गोल गरेको तीन मिनेट पछि आर्टिम डेजुवाले रसियाका लागि तेस्रो गोल गरे ।
३-० ले पछि परेको इजिप्टले खेलको ७३ औं मिनेटमा पेनाल्टी पायो । रसियाका खेलाडीले महोम्मद सलाहलाई डिवक्समा लडाएपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै सलाहले इजिप्टलाई खेलमा फर्काउन खोजे ।
तर रसियाको पोस्टमा निरन्तर आक्रमण गरेको इजिप्टले आफ्नो भाग्य बदल्न नसक्दा खेल ३-१ ले रसियालाई सुम्पियो ।
यसअघि समूह चरणको पहिलो खेलमा इजिप्ट उरूग्वेसँग पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको इजिप्ट समूह चरण बाट बाहिरिने लगभग पक्का भइसकेको छ । आज हुने खेलमा उरूग्वेले साउदी अरबियालाई हराएमा रसिया अन्तिम १६ मा प्रवेश गर्नेछ भने इजिप्ट घर फर्किने छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार