चैत्र ०७,२०७३
-रासस
काठमाडौं — सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल टेलिकमको सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन् । आइतबार भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन टेलिकमको एकता घोषणा सभामा मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले टेलिकमको क्षमता विस्तार गरी विकासमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
उनले टेलिकम नेपालको गौरव गर्ने ठूलो संस्था भएको र यसलाई थप सुदृढ गरी पैसा कमाउने ‘सिस्टर अर्गनाइजेसन’ खोलेर ‘फ्रिज’ भएको रकम सदुपयोग गर्न जरुरी रहेको भन्दै अहिले यो प्रतिस्पर्धीविहीन भएकोमा चिन्ता लागेको बताए । उनले टेलिकमलाई अन्य कम्पनीसँग थप प्रतिस्पर्धी भई उनीहरूभन्दा अब्बल बनाउन सबैखाले आधार तयार गर्नुपर्नेमा जोड दिए ।
टेलिकमले अन्तर्राष्ट्रिय उडान भर्ने विमान र ठूला प्राविधिक विश्वविद्यालयमा लगानी गर्ने क्षमता विस्तार गर्न जरुरी भएको पनि उनले उल्लेख गरे । उनले कर्मचारी संगठनको एकतालाई संस्था सबलीकरण र सुदृढीकरणमा जोड्न सके संस्था तथा मजदुर कर्मचारीको हित हुने विश्वास पनि व्यक्त गरे ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी लागिपरेको बताइन् । कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष बाबुजी पण्डितले दुई संगठन एकीकरण केवल संगठनको मात्र नभई संस्थाको हित र सुदृढीकरणमा केन्द्रित हुने बताए ।
नेकमा (माओवादी केन्द्र) र नेकपा (क्रान्तिकारी) माओवादी निकट कर्मचारी संगठनबीचको एकतापछि नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) नामकरण गरिएको छ । यज्ञ बजगार्इं संयोजक र बाबुजी पण्डित सहसंयोजक रहेको २१ सदस्यीय तदर्थ समिति गठन गरी आगामी ७ देखि ९ वैशाखसम्म संगठनको अधिवेशन गरिने भएको छ ।
प्रमुख समाचार