एर्दोआन टर्कीका दोस्रो राष्ट्रपति
-
असार ११, २०७५ एजेन्सी ।
बीबीसी
टर्कीका राष्ट्रपति रेजेप तैय्यप एर्दोआनले राष्ट्रपति चुनावको पहिलो राउन्डमा नै जीत हाँसिल गरेका छन् । देशमा चुनाव गराउने संस्थाका प्रमुखले यसबारे जानकारी दिएका हुन् ।
सरकारी मिडियाका अनुसार धेरैजसो भोटको गन्ती भइसकेको छ र एर्दोआनले ५३ प्रतिशत र उनका निकटतम प्रतिद्वन्द्वी मुहर्म इन्चेले ३१ प्रतिशत भोट पाएका छन् ।
टर्कीमा राष्ट्रपति र संसदीय चुनाव एकसाथ भएको हो र अन्तिम नतिजा शुक्रबार घोषणा गरिनेछ ।
यसअघि एर्दोआनले उनको एके पार्टीको शासकीय गठबन्धनले संसदमा बहुमत सुरक्षित गरेको बताएका थिए ।
अहिलेसम्म मुख्य विपक्षी पार्टीले आधिकारिक रुपमा हार स्विकार गरेको छैन । यसअघि विपक्षले अझै थुप्रै भोट गन्न बाँकी नै छ र नतिजा चाहे जे सुकै होस् आफू लोकतन्त्रका लागि लडाईं लडि नै रहने बताएको थियो ।
राष्ट्रपति एर्दोआनले यसपटक समय अगावै चुनाव गराएका हुन् । चुनाव सम्पन्न भएपछि टर्कीमा नयाँ संविधान लागू गरिनेछ जसले राष्ट्रपतिको शक्ति बढ्नेछ । आलोचकका अनुसार यसले टर्कीमा लोकतन्त्र कमजोर हुनेछ ।
यो चुनाव सन् २०१९ नोभेम्बरमा हुनुपर्ने थियो तर एर्दोआनले अचानक समय अगावै चुनाव गराउने घोषणा गरेका थिए । मतदान गरेछि एर्दोआनले पत्रकारसँग भनेका थिए, ‘यो चुनावमा टर्की एक लोकतान्त्रिक क्रान्तिबाट गुज्रिरहेको छ ।’
एजेन्सी