Trending :
 

एकै घरका ११ जनाले गरे आत्महत्या

आषाढ १८,२०७५

-

 असार १८, २०७५ डिल्ली । 
 
 
मोहम्मद शाहिद र बीबीसी
 
उत्तरी दिल्लीको सन्त नगर बुराडी इलाकास्थित एक तीन तल्ले घर छ जसमा अब एउटा घरपालुवा कुकुरमात्र बचेको छ ।
 
घरका सबै ११ सदस्य आइतबार बिहान संदिग्ध स्थितीमा मृत पाइए, उनीहरुको  मुख कपडाले छोपिएका थिए र हात बाँधिएका ।
 
भाटिया परिवारको नामले प्रसिद्ध यो घरमा १० जना झुण्डिएको अवस्थामा पाइएका थिए भने सबैभन्दा वृद्धालाई भुइँमा मृत पाइएको थियो । मृत्यु हुनेमा सात महिला र चार पुरुष छन् जसमध्ये तीनजना १६ वर्ष मुनिका छन् । यो परिवार मूलतः राजस्थानका थिए तर २० वर्षभन्दा बढि सयमदेखि बुराडीमा नै बस्दै आइरहेका थिए ।
 
करिब ७५ वर्षीया महिला नारायण, उनका दुई छोरा भुप्पी (४६) र ललित (४२) यी दुईका श्रीमती सविता (४२) र टीना (३८) पनि भुण्डिएका थिए । भुप्पीका दुई वयस्क छोरी र एक नाबालिग छोराका साथै ललितका एक १२ वर्षका छोरा पनि मृत पाइए ।
 
११ मृतकमध्ये नारायणकी एक विधवा छोरी र उनकी छोरी अर्थात् नारायणकी नातिनी प्रियंका (३०) समेत समावेश छन् । प्रियंकाको जून १७ मा इन्गेजमेन्ट भएको थियो र उनको चाँडै नै विवाह हुने तयारीमा थियो ।
 
सेन्ट्रल रेन्जको संयुक्त पुलिस आयुक्त राजेश खुरानाका अनुसार प्रारम्भिक अनुसन्धानमात्र भएकाले स्पष्ट रुपमा अहिले केही पनि भन्न सकिन्नँ । उनले भने, ‘यसबारे अनुसन्धान चलिहेको छ तर यो हत्या वा आत्महत्या हो भन्ने बारे केही भन्न सकिँदैन ।’
 
 
 
 
 
घटनाबारे कसरी थाहा भयो ?
 
उक्त घरको भुइँ तल्लामा दुईवटा पसल छन् । एउटा किराना पसल छ जुन भुप्पी चलाउँथे र अर्को प्लाइवुडको थियो जसका काम ललितले हेर्ने गर्दथे ।
 
एकै घरका ११ सदस्यको मृत्यु भएको खबर सबैभन्दा पहिले उनका छिमेकी गुरचरण सिंहलाई थाहा भयो । गुरचरण सिंहका अनुसार उनकी श्रीमती सधैं बिहान दुध लिन भाटिया परिवारको पसलमा जाने गर्थिन् तर उनको पसल त्यसदिन सात बजेसम्म पनि नखोल्दा उनकी श्रीमतीले माथि गएर हेर्न भनिन् । 
 
गुरचरण भन्छन्, ‘म घरभित्र जाँदा सबै ढोका खुल्ला थिए र सबैको शव झुण्डिएको अवस्थामा थिए । उनीहरुको हात बाँधिएका थिए । यतिधेरै मानिसहरु भुण्डिएको देखेर म भयभित भएँ । घर आएर मैले श्रीमतीलाई बताउँदा उनी त्यहाँ हेर्न जान चाहिन् मैले उनलाई रोकें ।’
 
 
 
अब एउटा घरपालुवा कुकुरमात्र
 
त्यसपछि गुरचरणले छिमेकीमा बस्ने एक पुलिसलाई बोलाए र उनले बिहान साढे सात बजे पीसीआरलाई फोन गरे ।
 
गुरचरणका अनुसार उक्त परिवार निकै राम्रो थियो । उनी भन्छन्, ‘कहिले काँही पैसा नहुँदा हाँसी हाँसी उधारो दिन्थे ।’
 
उक्त परिवारका नजिकका नवनित वत्राले पनि परिवार निकै राम्रो जो पूजा पाठमा निकै मन लगाउने बताए । उनका अनुसार पूरा परिवार दैनिक बेलुका सँगै बसेर पुजा गर्दथे ।
 
वत्राका अनुसार नारायणकी एक विवाहित छोरी पानीपतमा र अर्का जेठो छोरा राजस्थानमा बस्छन् ।
 
 
 
अर्का छिमेकी टी.पी. शर्माले उक्त परिवारको कहिले पनि कसैसँग दुश्मनी नदेखिएको बताए ।
 
शर्मा भन्छन्, ‘यो परिवार यति राम्रो थियो कि उनीहरुको शोकमा वरिपरिका सबै पसल बन्द छन् । उनीहरुले कहिले पनि कसैसँग झगडा गरेको देखिएन । हालै भुप्पीको भान्जीको इन्गेजमेन्ट भएको थियो, घरमा सबै ठिकठाक थियो । यो परिवार एकै ठाउँमा बस्ने भएकाले कहिले पनि कुनै पारिवारिक विवाद पनि थिएन ।’
 
नजिकै रोलको ठेला राख्ने मोहम्मद यूनुसले उनका नातिनीहरु उक्त घरमा ट्युशन पढ्ने गरेको जानकारी दिए । भुप्पीका दुबै छोरीहरुले ट्युशन पढाउने गर्थे ।
 
यूनुस भन्छन्, ‘म आफ्ना नातिनीहरुलाई उक्त घरमा पुर्याउने गर्थे । मैले सधैं त्यहाँ आदर सत्कार पाएँ । घरलाई हेर्दा कहिले पनि त्यहाँ केही समस्या छ जस्तो देखिएन ।’
 
उक्त परिवार निकै धार्मिक भएको पनि बताइन्छ । यसै इलाकाका एक पुजारी मूलचन्द शर्माले आफ्नो उक्त घरसँग निकै राम्रो सम्बन्ध भएको र उनीहरु एक सम्पन्न परिवार भएको जानकारी दिए ।
 
उनी भन्छन्, ‘हिजो राती मेरो भुप्पीसँग भेट भएको थियो । मैले उनीसँग प्लाईको सामान मगाएको थिएँ उनले आज बिहान दिने बाचा गरेका थिए ।’
आत्महत्या कि हत्या ?
 
छिमेकी सीमाले उक्त परिवार सँगै सत्संग जाने गरेको र कुनै पनि धार्मिक कार्यक्रममा अघि बढ्ने गरेको जानकारी दिइन् ।
 
उनी भन्छिन्, ‘किराना पसल बाहिर यो परिवारले सधैं एउटा कागजमा राम्रा विचारका कुराहरु लेख्ने गर्थे । दैनिक यो परिवारले सधैं केही न केही विचार लेख्ने गर्दथे । यति राम्रो विचार भएका मानिसहरु आत्महत्या कसरी गर्न सक्छन् ?’
 
सीमाका अनुसार उक्त परिवार निकै सम्पन्न थियो र बच्चाहरु पढे लेखेका थिए त्यसकारण उक्त घटनामा प्रश्न उठाउँछन् । परिवारका सबै कान्छा सदस्यले छिमेकीको सम्मान गर्ने गरेको उनले बताइन् ।
 
 एजेन्सी