Trending :
 

संकटालाई हराउदै आर्मीको नाममा गोल्डकप उपाधि

बैशाख १७,२०७४

-

वैशाख १७ –

प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

वीरगन्जमा आयोजित राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा, शनिवार भएको फाइनल खेलमा सिएमजी संकटा क्लबलाइ २–० गोलले हराउदै आर्मीले उपाधी उचाल्न सफल भएको हो ।

शनिवार भएको फाइनल खेलमा आर्मीका लागि दुवै गोल जर्ज प्रिन्स कार्कीले गरेका हुन् ।

उनले ६७ औं मिनेटमा पहिलो गोल गरे भने त्यसको ३ मिनेटमै अर्थात ७० औं मिनेटमा अर्को गोल गरे ।

यससंगै आर्मीले फाइनल भिडन्तमा संकटा क्लबसंग लगातार तीन पटक व्यवहोरेको हारको बदला वीरगन्जमा लिन सफल भएको छ ।

यसअघि संकटा क्लबसंग भएका चार वटा फाइनल भिडन्तमा आर्मीले एउटामा मात्रै जित हात पारेको थियो भने त्यसपछिका लगातार तीन वटा फाइनल खेलमा संकटा विजयी भएको थियो ।

उपाधीसंगै आर्मी क्लबले नगद पाँच लाख रुपैया र ट्रफी प्राप्त गरेको छ । उपविजेता संकटा क्लबले भने नगद दुइ लाख ५० हजार र ट्रफीमै चित्त बुझाएको छ । यस्तै प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दी सिरिज) संकटा क्लबका राज पौडेल घोषित भएका छन् । उनले सुजीकी जिक्सर मोटरसाइकल पाएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर आर्मी क्लबका जर्ज प्रिन्स कार्की , उत्कृष्ट गोल रक्षक आर्मीकै विकास कुथु , उत्कृष्ट मिड फिल्डर संकटाका कप्तान विक्रम लामा , उत्कृष्ट रक्षक संकटाका पिटर सेगुन र उत्कृष्ट प्रशिक्षक आर्मी क्लबका नवीन न्यौपाने घोषित भएका छन् ।

उनिहरु सबैले जनही नगद १० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।