Trending :
 

इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ बेपत्ता

आषाढ २०,२०७५

-

 असार २०, २०७५ एजेन्सी ।
 
इन्डोनेसियाको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । 
 
उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् । 
 
उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ ।  जाभा यहाँको धेरै जनसङ्ख्या भएको टापूक्षेत्र हो । यहाँ प्राकृतिक प्रकोपका धेरै घटना हुने गरेका छन् । 
 
यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार उक्त फेरीमा १४० जना यात्रु रहेका र २९ जनाको शव प्राप्त भएको छ । अरु ३१ जना हराइरहेका छन् । 
 
बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् । 
 
ती अधिकारीहरुका अनुसार दुई हप्तामात्र अघि पनि सुमात्रा टापूनजिकै भएको यस्तै अर्को फेरि दुर्घटनामा १६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो । 
 
प्रकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले प्रहरीसहित ठूलो सङ्ख्याका उद्धारकर्मी परिचालन गरिएको जनाएका छन् । 
 
 
 
एजेन्सी