विश्वकप फुटबल २०१८ :
विश्वकप सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने, ब्राजिल र उरुग्वे बाहिरिए
-
असार २३,२०७५ एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई र फ्रान्सले उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
रसियाको कजान एरिनामा भएको खेलमा बलियो प्रतिद्धन्दी ब्राजिललाई बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरेको हो । क्वाटरफाइनलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित हुदै ब्राजिल विश्वकपबाट बाहिरिएको हो । बेल्जियम भने ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १३ औं मिनेटमा नै बेल्जियमले अग्रता बनाएको थियो । कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गोल गर्न पुगेका थिए । बेल्जियमले प्रहार गरेको कर्नर किक ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । ब्राजिल हार्नुमा उनको आत्मघाती गोल पनि मुख्य कारण बन्यो ।
ब्राजिलले सुरुवाती समयमै एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । पटक पटक ब्राजिलले प्रहार गरेको बल बेल्जियमका डिफेन्डर र गोलकिपरले विफल बनाई दिए ।
बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । केभिनले खेलको ३१औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रतामा पुर्याए । उनले निकै सुन्दर गोल गरेका थिए । पहिलो हाफसम्म ब्राजिल बेल्जियमसँग २–० गोलले पछि रहेको थियो ।
ब्राजिलले दोस्रो हाफमा गोल फर्काएपनि बेल्जियमलाई रोक्न भने सकेन । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएका थिए । रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याए ।
सेमिफाइनलमा पुग्ने क्रममा फ्रान्सले उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्न सफल भयो । फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो ।
फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
खेलको ६१औं मिनेटमा ग्रिजम्यानले डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत भएको हो । उरुग्वेका गोलकिपरको कमजोरीका कारण गोल हुन पुग्यो । किपरले बललाई रोक्ने प्रयास गरेका थिए । तर हातबाट बल चिप्लिएर पोष्टभित्र छिरेको थियो । दोस्रो हाफमा पनि उरुग्वेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्ससँग पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरिएको छ ।