इंग्ल्यान्ड रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–० गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
इंग्ल्यान्डको जिततमा ह्यारी मागुइरे र डेले अलीले गोल गरे । इंग्लयान्डका लागि ह्यारी मागुइरेले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ३०औं मिनेटमा मागुइरेले गोल गर्दै अग्रता दिलाए । उनले कर्नरकिकलाई सदुपयोग गर्दै हेडर गोल गरे ।
रसियाको समरा एरिनामा पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने एकपछि अर्को अवसर खेर फालेको थियो । खेलको अन्तिम समयमा इंग्ल्यान्डले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेन । स्वीडेनले पनि गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।
बम बम
१–० गोलले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । इंग्ल्यान्डका लागि डेले अलीले गोल गर्दै २–० गोलको अग्रतामा पुर्याएका थिए । खेलको ५९औं मिनेटमा डेलेले गोल गर्दै अग्रता दिलाए ।
स्वीडेनले दोस्रो हाफमा निकै आक्रमक खेल खेलेको थियो । तर गोल गर्न भने सकेन । एकपछि अर्को गोल गर्ने अवसर स्वीडेनले गुमाएको थियो । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । पराजित स्वीडेन भने विश्वकपबाट बाहिरिएको छ ।