Trending :
 

आर्थिक प्रसङ्ग

बैंकिंग एक्स्पोले नयाँ लगानीकर्ता भित्र्याउने बिश्वाश

बैशाख १७,२०७४

-

१७,वैशाख-

राजधानीको भृकृटीमण्डपमा सुरु भएको बैंकिङ एक्स्पो अवलोकन गरेर बैंकबाट कर्जा लिएर उद्यमी बन्न सके धनी बन्न सकिने गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । नेपालका अनुसार शुक्रबारदेखि सुरु भएको बैंकिंग एक्स्पोले आर्थिक गतिविधि बढाउन फलदायी हुने अपेक्षा गरेको छ।

त्यसैगरी उनले वित्तीय साक्षरको अभावमा काठमाडौंजस्तो सुगम स्थानका बासिन्दा पनि बैंकिङ पहुँचमा नभएको बताए । उनले काठमाडौंलगायतका बाहिरी विभिन्न स्थानमा वित्तीय साक्षरताको आवश्यकता भएको भन्दै केन्द्रीय बैंकले वित्तीय साक्षरतालाई प्राथमिकतासाथ अघि बढाएको जानकारी दिए । उनले बैंकिङ एक्स्पोमा लाइन लगाएर भाषण गरेर मात्र नहुने भन्दै काम पनि हुनुपर्ने धारणा राखे । यस्ता खालका एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थालाई नेपाल ल्याउन सक्नुपर्ने उनको तर्क छ।

उनले बैंकसम्बन्धी यस्ता एक्स्पोले नयाँ लगानीकर्ता पनि भित्र्याउन सकिने दाबी गरे । ६० प्रतिशत जनसंख्या वित्तीय पहुँचबाट बाहिर रहेको भन्दै उनले बैंक तथा वित्तीय संस्थालाई ६० प्रतिशतसम्म पुग्नेगरी काम गर्न निर्देशन दिए ।

एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, रेमिट्यान्स कम्पनी, बिमा कम्पनी, मर्चेन्ट बैंक, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोषलगायतका ४६ वटा स्टल राखिएका छन् । स्टलहरू अवलोकन गर्न र बैंकिङ सेवाबारे जानकारी लिन आउने सर्वसाधारण तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने कार्यक्रमका संयोजक माधव निर्दोषले जानकारी दिए ।