अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख १७,२०७४
-रासस
१७,वैशाख,संयुक्त राष्ट्रसंघ:
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको एक सैनिक शिविरमा करिब एक हप्ता अगाडि भएको हिंसात्मक हमलाको निन्दा गरेको छ। अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफमा भएको सो हमलामा परी १३५ सैनिक जवानको ज्यान गएको थियो।
राजधानी काबुलमा भएको आक्रमणमा परी ५० जनाभन्दा बढी नागरिकको ज्यान गएको केही समयपछि तालिवानहरुले सो सैनिक शिविरमा हमला गरेका छन्। सो हमलाको निन्दा गर्दै परिषदले दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ। संयुक्त राष्ट्रसंघको १५ सदस्यीय उक्त परिषदले एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो।
उक्त परिषदले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो मानवीय अपराधमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ सो आक्रमण तालिवानले गरेको हो। उक्त आतंककारी संस्थाले सो हमलाको जिम्मेवारी पनि लिएको छ। उक्त हमला सो क्षेत्रमा गरिएको यो तीन वर्षयताको तेस्रो पटक हो। केही महिनामात्र अघि तालिवानहरुले अफगानिस्तानको सर्वोच्च अदालतमा हमला गरेका थिए। ती हमलाकारीले सर्वोच्च अदालतको परिसरमा नै न्यायाधीशहरुलाई लक्ष्य गरेर हमला गरेका थिए।
सुरक्षा परिषदको शनिबार बसेको बैठकले सो हमलाप्रति दुःख व्यक्त गर्दै त्यसमा परेका व्यक्तिप्रति हार्दिक श्रद्धान्जलि पनि व्यक्त गरेको छ। साथै आफन्त र परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। अफगानिस्तानमा हुने यस्ता मानवताविरोधी हमलाहरुका मुख्य दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र कारबाही गर्न पनि सो परिषदले आग्रह गरेको छ।अफगानिस्तानमा पछिल्लो समयमा तालिवानहरुले फेरि यस्ता आतङ्ककारी हमलालाई तिब्रता दिन थालेका छन्। तर पनि त्यहाँ शान्ति स्थापना र शान्ति वार्ताका विषयमा कुनै पहल भने भएका छैनन्।
प्रमुख समाचार
सम्वन्धित समाचार