Trending :
 

ट्रम्पले रुसमाथि दिएको आफ्नो बयानलाई एक दिनमै उल्ट्याए

श्रावण ०२,२०७५

-

 साउन २, २०७५ एजेन्सी । 
 
बीबीसी
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक दिन पुरानो बयानलाई उल्ट्याएका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरुको निष्कर्ष स्विकारेका छन् ।
 
सोमबार प्रस्ट रुपमा आफ्नो कुरा राख्न नसकेको उल्लेख गर्दै आफूले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको ट्रम्पले बताए ।
 
के भनेका थिए ट्रम्पले ?
 
फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा ट्रम्पले दिएको अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको थियो ।
 
एक पत्रकारको प्रश्नमा ट्रम्पले जुन जवाफ दिए, त्यो अमेरिकी एजेन्सीको दाबी विपरित थियो । रुसले हस्तक्षेप गरेको सबै अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ ।
 
ह्वाइट हाउसले उक्त पत्रकार सम्मेलनको ट्रान्सक्रिप्ट जारी गरेको छ । जसमा पत्रकार र ट्रम्पको सवाल जवाफ पढ्न सकिन्छ ।
 
पत्रकारः राष्ट्रपति पुटिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हस्तक्षेपको आरोप खारेज गरेका छन् तर अमेरिकाको गुप्तचर एजेन्सीले भने रुसले नै हस्तक्षेप गरेको बताउँछ । मेरो तपाईंलाई प्रश्न छ कि तपाईंको यसबारे कस्तो धारणा छ ?
 
ट्रम्पः धेरै मानिसहरु म कहाँ आउँछन्, उनीहरु भन्छन् यसमा रुसको हात हुनुपर्छ । मसँग राष्ट्रपति पुटिन छन्, उनले यसमा रुसको संलग्नता नभएको बताएका छन् । म यसो भन्छु, रुसले त्यसो गर्नुपर्ने म कुनै कारण देख्दिनँ ।’
 
अब के भनिरहेका छन् ?
 
आफूले पत्रकार सम्मेलनको ट्रान्सक्रिप्ट पढेपछि ट्रम्पले यसबारे प्रष्टिकरण दिनुपर्ने आवश्यकता देखेको उनले बताए ।
 
उनले भने, ‘मेरो अभिव्यक्तिको एउटा वाक्य यस्तो हुनुपर्दथ्योः म किन कुनै कारण देख्दिनँ ? अथवा रुस किन हुनसक्दैन ?
 
साथै ट्रम्पले भने, ‘रुसले सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको भन्ने हाम्रा गुप्तचर निकायहरुको निष्कर्षलाई म स्विकार्छु । अरु मानिस पनि हुनसक्छन् । त्यहाँभन्दा बाहिरका थुप्रै  मानिस पनि हुनसक्छन् ।’
 
 
ट्रम्पका अनुसार उक्त हस्तक्षेपले चुनावलाई कुनै असर पु¥याएको थिएन । एजेन्सी