Trending :
 

एम्बाप्पेले दिए विश्वकपको सबै पारिश्रमिक च्यारिटीलाई

श्रावण ०२,२०७५

-

 साउन २ , २०७५ पेरिस ।
 
रसिया विश्वकप फुटबलमा युवा खेलाडीमध्ये विश्वच्याम्पियन फ्रान्सका केलियन एम्बाप्पे सर्वाधिक चर्चित बने । प्रिक्वार्टरफाइनलमा दुईपटकको विश्वच्याम्पियन अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण २ गोल गरेपछि एम्बाप्पे एकाएक चर्चित बने ।
 
 
 
सोही खेलमा उनको तुलना ब्राजिललाई तीनपटक विश्वकप जिताएका पेलेसँग भयो । अझ फाइनलमा क्रोएसियाविरुद्ध १ गोल गरेपछि एम्बाप्पे पेलेपछि कम उमेरमा फाइनलमा गोल गर्ने उनी दोस्रो खेलाडी बने । फ्रान्सलाई दोस्रो विश्वकप दिलाउन प्रमुख भूमिका निर्वाह गरेका एम्बाप्पेको फेरि फरक प्रसंगमा प्रशंसा भइरहेको छ ।
 
यसपटक उनले विश्वकपमा पारिश्रमिकका रूपमा आर्जन गरेको सबै रकम च्यारिटी संस्थालाई दान दिएका छन् । विश्व फुटबलमा उनलाई एक दानवीर खेलाडीका रूपमा हेरिएको छ ।
 
 
 
साढे ५ करोडभन्दा बढी रकम दान
एम्बाप्पेले विश्वकपमा ५ करोड ६२ लाख रुपैयाँबराबर आर्जन गरे । च्यारिटी संस्था ‘प्रिमियर्स डी कोर्डी’लाई उनले सबै रकम दिने निर्णय गरेका छन् । एम्बाप्पेले अपांगता भएका बालबालिका तथा ठूलो रोगबाट ग्रस्त गरिब बालबालिकाको उपचारका लागि खर्च हुने जनाएका छन् । एम्बाप्पे विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।
 
बच्चासँगको सम्बन्ध
रसिया विश्वकपका हिरो एम्बाप्पे बालबालिकासँग रमाउने युवा फुटबलर हुन् । उनले अपांगता भएका बालबालिका तथा गरिब बच्चाको सहयोगका लागि ‘प्रिमियर्स डी कोर्डी’ नामक संस्थालाई सहयोग गर्दै आएका छन् । उनले सो संस्थामार्पmत गरिब बालबालिकाको शिक्षा, स्वास्थ्य तथा गरिब बच्चाको आय तथा सीपमूलक कार्यमा योगदान गर्दै आएका छन् ।
 
संस्थाका जेनेरल म्यानेजर सेबास्टियन रुफिनले एम्बाप्पेले धेरै असहाय बालबालिकालाई सहयोग गरेको बताए । ‘एम्बाप्पे निकै व्यस्त समयमा पनि हाम्रा लागि खुसी हुने अवसर दिइरहेका हुन्छन् । बच्चासँगको उसको सम्बन्ध धेरै माथिको छ,’ सेवास्टियनले भने, ‘बच्चालाई प्रोत्साही गर्न उनले कुनै कसर बाँकी राखेको मलाई थाहा छैन । यो उमेरमै यस्तो पुण्य काम गर्ने एम्बाप्पेबाट संसारले सिक्नुपर्छ ।’
 
पिएसजीमै रहने इच्छा
एम्बाप्पेले आफू नयाँ सिजनमा पनि पेरिस सेन्ट जर्मन (पिएसजी) मै रहने बताएका छन् । स्पेनिस क्लब रियल म्याड्रिडले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई युभेन्टसमा बेचेपछि एक राम्रा स्ट्राइकरको खोजी गरिरहेको छ । रियलले रोनाल्डोकै हाराहारी खेलाडीका रूपमा एम्बाप्पेमाथि नजर लगाएको छ । यसैकारण अन्तर्राष्ट्रिय मिडियाहरूले एम्बाप्पे कीर्तिमानी रकममा रियल जान सक्ने जनाएका छन् । तर, एम्बाप्पेले आफू अर्को सिजन पनि पिएसजीमै रहने स्पष्ट पारेका छन् ।
 
एजेन्सी