आर्थिक प्रसङ्ग
बैशाख १८,२०७४
-
१८,वैशाख,२०७४-
हुम्लामा खाद्यान्न ढुवानी गर्न सेनाको स्काइ ट्रक प्रयोगमा ल्याइएको छ I व्यवसायीले ढुवानी गर्न आलटल गरेपछि शनिबारदेखि स्काई ट्रकमार्फत ढुवानी गर्न थालिएको नेपाल खाद्य संस्थानले जनाएको छ I संस्थानका निमित्त महाप्रबन्धक शिरोमणि खनालका अनुसार शनिबार र आइतबार गरी ६० क्विन्टल चामल ढुवानी भएको छ । ‘सेनालाई ५० लाख रुपैयाँ पेस्की पनि दिइसकिएको छ,’ उनले भने । संस्थानका अनुसार चालु आर्थिक वर्षमा दुर्गम क्षेत्रमा १ लाख ५५ हजार ८ सय १० क्विन्टल ढुवानी गर्ने लक्ष्य छ ।
जसमध्ये हुम्लाका लागि १८ हजार क्विन्टल हो । हुम्ला सदरमुकामका लागि १३ हजार क्विन्टल कोटा छ । सदरमुकामका लागि स्वीकृत कोटामध्ये ७२ प्रतिशत हवाई मार्गबाट ढुवानी गर्नुपर्छ । ६ हजार २ सय ६२ क्विन्टल व्यवसायीले हवाई मार्गबाट ढुवानी गरेका थिए । व्यवसायीले प्रतिकिलो ७९ रुपैयाँको दरले ढुवानी गरेको संस्थानको तथ्यांकमा छ । त्यसपश्चात सेनाको हेलिकप्टरबाट सर्केगाडमा ४ सय १७.३० क्विन्टल र श्रीनगरमा ३ सय ९०.९० क्विन्टल ढुवानी गरेको थियो ।
हेलिकप्टरबाट प्रतिकिलो २ सय ११ रुपैयाँको दरले ढुवानी भएको थियो । ‘सुक्खाका कारण खाद्यान्न अभाव भएपछि मन्त्रीस्तरीय निर्णयअनुसार हेलिकप्टर प्रयोग गरेर ढुवानी गर्यौं ,’ प्रवक्ता सापकोटाले भने, ‘आपतकालीन अवस्था भएकाले ढुवानी दर बढी देखिएको हो । त्यसैगरी साउन–भदौमा हुम्लाको गाउँतिर ढुवानी भएको थियो । लामो समयसम्म खडेरीका कारण हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्लालगायतमा खाद्य संकट भएको छ ।
डोल्पामा करिब ९० प्रतिशतले खडेरी भएको कृषि कार्यालयको भनाइ छ । कर्णालीको उत्पादनले स्थानीय जनतालाई पनि पुग्दैन । यस वर्ष उत्पादनमा थप गिरावट भएकाले तत्काल आपूर्ति बढाउनुपर्ने सरोकारवालाको भनाइ छ । यसका साथै हेलिकप्टर प्रयोग हुँदा सडक बिग्रे पनि कुनै समस्या हुँदैन ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा पनि खाद्यान्न ढुवानीमा समस्या रहेको उल्लेख गरिएको थियो । खाद्य संस्थानले इन्धन समस्या, ढुवानी खर्च, वर्षा सिजन भएकाले समयमै पुर्या।उन नसकेको दाबी गरेको थियो । खाद्य उपलब्धताको हिसाबले सरकारको ढुवानी अनुदानमा सबैभन्दा बढी खपत हुने अञ्चल कर्णाली हो ।
यसमध्ये डोल्पा र हुम्लामा धेरै माग हुन्छ । डोल्पामा भने केही समस्या देखिएको संस्थानले जनाएको छ । ती क्षेत्रमा चाहिनेभन्दा बढी अस्वस्थ प्रतिस्पर्धाले ढुवानीमा समस्या देखिएको सापकोटाले बताए । तथ्यांकअनुसार डोल्पामा २२ हजार ५ सय ५० क्विन्टल ढुवानी गर्ने लक्ष्य बनाएको छ । तीमध्ये १३ हजार ६ सय ४३ क्विन्टल मात्रै ढुवानी भएको छ । मुगुमा स्वीकृत कोटाभन्दा बढी ढुवानी भएको तथ्यांकमा छ । मुगुको कोटा १५ हजार ८ सय ५० क्विन्टल भए पनि ९ महिनामा २१ हजार ४ सय २७ क्विन्टल ढुवानी भएको तथ्यांकमा छ ।
बाजुरामा पनि कोटाभन्दा बढी ढुवानी भएको जनाइएको छ । केही क्षेत्रको हकमा भने पुरानै मौज्दात रहेकाले ढुवानी गरिएको छैन । पुरानो मौज्दात सकिएपछि मात्रै ढुवानी गर्ने योजना बनाएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रमुख समाचार