भारतमा अब नेपाली गाडीले सहज प्रवेश पाउने सहमती
-
साउन ५,२०७५ काठमाडौं ।
भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् ।
नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरूलाई सहज ढंगले भारत प्रवेश र आवागमन गर्न अनुमति दिन सहमत भएको हो ।
सन् २०१४ मा भएको नेपाल–भारत मोटर भेहिकल सम्झौताअन्तर्गत संयुक्त कार्य समूहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो ।
बैठकमा नेपाली नम्बर प्लेटका सवारीसाधनलाई भारतीय गाडीहरूले पाएजस्तै पारस्परिक रूपमा सुविधा दिन र तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले बताएका छन।
नेपाली नम्बर प्लेटका सवारीसाधनहरूले भारत प्रवेश गर्दा झन्झटिलो र लामो प्रक्रिया पूरा गर्ने बाध्यता रहेको हुँदा त्यसलाई भारतीय नम्बर प्लेटका सवारी साधानले नेपाल प्रवेश गर्दा पाएको जस्तो सुविधा उपलब्ध गराउन विगत लामो समयदेखि नेपाली पक्षले माग गर्दै आएको थियो ।