Trending :
 

नेपालले २४३ रनले ह्याम्पसायरलाई हरायो

श्रावण ०६,२०७५

-

 साउन ६, २०७५ लन्डन ।
 
 
  
युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा फराकिलो जित निकालेको छ।
 
कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतमा नेपालले पहिलो अभ्यास खेलमा इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको हो।
 
३ सय ६३ रनको लक्ष्य पछ्याएको ह्यामसायर ३७ दशमलव १ ओभरमा १ सय १९ रनमा समेटिएको थियो।
 
ह्यामसायरका ह्यारी फिसलले सर्वाधिक ३३ रन बनाएका थिए। अर्चेट नाइट र टोम बाउचरले समान २२ रन बनाएका थिए। माइल्स कभेरले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
 
ह्यामसायरको इनिङ्स ध्वस्त पार्ने क्रममा ललित राजवंशीले कसिलो बलिङ गर्दै १० ओभरमा ४ ओभर मेडन फाल्दै ३४ रन दिएर ५ विकेट लिए। सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २(२ विकेट लिए। बाँकी एक विकेट करण केसीको नाममा रह्यो।
 
यसअघि, सुरूवाती व्याटिङ गरेको नेपालले कप्तान  पारस खड्काको शतकीय इनिङ्सको मद्दतले ३ सय ६२ रन बनाएको थियो।
 
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै ३६२ रन बनायो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक १६१ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङमा आएका खड्काले १०६ बल खेलेका उनले १९ चौका र ७ छक्का प्रहार गरेका थिए।
 
दुबै ओपनर सस्तैमा गुमाएको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ५ र सुवास खकुरेल ११ रनमा आउट भएका थिए।
 
सरद भेसवाकरले १४ रन बनाउँदा रोहित कुमार पौडेलले ४४ र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडेका थिए।
 
यसबाहेक करण केसीले १८, सन्दीप लामिछाने र ललित भण्डारीले समान १६ रन बनाए भने सुवास खकुरेलले ११ रन जोडेका थिए। ललित नारायण राजबंशी ५ रनमा नटआउट रहे।
 
एचएचसीसीका लागि मिल्स कभर्स र जोनले ३(३ तथा जेम्स ग्रीनले २ विकेट लिएका थिए।
 
पारस खड्का ‘म्यान अफ दि म्याच’ घोषित भए ।
 
इङ्ल्याण्डको लड्समा हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेटको तयारी स्वरुप नेपालले अभ्यास खेल खेलेको हो।
 
नेपालले दोस्रो अभ्यास खेल सोमबार सेन्ट क्रससँग खेल्नेछ। उक्त खेल टी(२० फर्म्याटको हुनेछ।