सावधान ! बसिरहँदा हुन सक्छ मेमोरी लस

भाद्र १३,२०७५

-

१३ भदौ, २०७५ काठमाण्डौ l 
 
 
तपाईं कुनै पनि कामका लागि लामो समय एकै ठाउँमा बसिरहनुहुन्छ भने केही सावधानी अपनाउन जरुरी हुन्छ । किनभने, एकै ठाउँमा लामो समय कुर्सीमा बसिरहँदा स्वास्थ्यमा कैयौँ प्रकारका क्षति पुग्छ । यतिसम्म कि यसको असर मस्तिष्कमा समेत पर्छ र स्मरणशक्ति नै कमजोर हुँदै जान्छ । हालै गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।
 
यसरी हुन्छ मेमोरी लस
 
लामो समयसम्म एकै ठाउँमा बसिरहँदा दिमागमा रक्तसञ्चार ढिलो हुने गर्छ । जसले घातक परिणाम दिन्छ । अफिसमा लामो समय एकै ठाउँमा बसेर काम गर्ने केही मानिसमा गरिएको अध्ययनले लामो समयसम्म एकै ठाउँ बसिरहँदा मस्तिष्कको स्वास्थ्यमा निकै हानि पुग्ने निष्कर्ष निकालेको छ ।
 
दिमागको रक्तसञ्चार हुनु स्वास्थ्यका लागि एक सामान्य प्रक्रिया हो । जिउनका लागि यो अनिवार्य छ । यसैका कारण मस्तिष्कले हरेक कुरा पहिचान गर्ने काम गर्छ । त्यति मात्र नभएर मस्तिष्कको कोषमा अक्सिजन र पोषण तत्व परिपूर्ति हुनका लागि पनि मस्तिष्कमा रक्तरञ्चारको आवश्यकता हुन्छ ।
 
मस्तिष्कमा रक्तसञ्चारको एउटा प्रक्रिया छ । यस्तो प्रक्रियामा गडबड भएमा मस्तिष्कले राम्रो काम गर्न सक्दैन । त्यसैगरी, लामो समयसम्म एकै ठाउँमा बसिरहँदा यस्तो पूरै प्रक्रिया प्रभावित
हुन जान्छ । मानिस मात्र होइन, जनावरमा भएको अध्ययनले पनि मस्तिष्कको रक्तसञ्चारमा थोरै पनि रोकावट आउँदा सोच्ने या सम्झने क्षमतामा निकै ठूलो प्रभाव पर्न जान्छ ।
 
लामो समयसम्म रक्तसञ्चार रोकिँदा दिमागकै कारण शरीर पनि बिरामी हुन थाल्छ । त्यसैले लामो समयसम्म एकै ठाउँमा बसिरहने बानीले डेमेन्सिया र मेमोरी लससम्मका समस्या उत्पन्न हुन सक्छ ।
 
अध्ययन
 
यसबारे पहिले पनि थुप्रै अध्ययन भइसकेका छन् । त्यस्ता अध्ययनले के भन्छन् भने लगातार एकै ठाउँमा बसिरहँदा शरीरका सबै भागको रक्तसञ्चार प्रभावित हुने गर्छ । यसको सबैभन्दा ठूलो असर खुट्टामा पर्न जान्छ । लामो समयसम्म एकै ठाउँमा र एकै अवस्थामा रहँदा खुट्टामा अपांगताको समस्यासमेत हुन सक्छ ।
 
यसपटक यन्गल्यान्डको लिभरपुल जाने मोरेस युनिभर्सिटीमा अध्ययन भएको छ । शोधकर्ताले अफिसमा घन्टौँसम्म एकै ठाउँमा बस्ने काम गर्ने १५ जनामा अनुसन्धान गरेका थिए । यी सबै मानिस कम्तीमा चार घन्टासम्म एकै ठाउँमा बसेर लगातार काम गर्थे । उनीहरू बाथरुम जानका लागि मात्र आफ्नो क्याबिनबाट उठ्ने गर्थे । शोधकर्ताले उनीहरूको ब्रेकअघि र पछिको रक्तसञ्चार पनि जाँच गरेका थिए । त्यसबाट के थाहा लागेको थियो भने ब्रेकपछि उनीहरूको रञ्चार चुस्त थियो । तर, अगाडि भने निकै धिमा । उनीहरूको अध्ययनपछि परिणाम के थियो भने उनीहरू लगातार एकै ठाउँमा बसेर काम गर्दा रक्तसञ्चार कम हुँदै गएको थियो । जर्नल अफ एप्लाइड फिजियोलोजीमा यो खोज प्रकाशित भएको थियो ।
 
सावधानी
 
यसरी बसिरहने काम भए पनि केही सावधानी भने अपनाउन सकिन्छ । आधा घन्टापछि कुर्सीबाट उठेर कम्तीमा दुई मिनेट टहलिँदा मस्तिष्कको रक्तसञ्चारमा सकारात्मक प्रभाव पर्छ । यसो गर्दा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्दै जान्छ ।
 
अनुसन्धानकर्तामध्येका प्रमुख सोफी कार्टरले अफिसमा काम गर्ने मानिस लामो समयसम्म टहलिन जरुरी हुने बताउँछन् । उनले भनेका छन्, ‘तपाईं जहाँ काम गर्नुहुन्छ, त्यहाँ बीच–बीचमा उठेर एक फन्को लगाउनुस् । या सिँढी चढ्ने, झर्ने गर्नुस् । यसो गर्दा तपाईंको दिमाग सक्रिय रहन सहयोग पुग्छ ।’
 
यो पनि पढ्नुहोस्- के तपाईंहरु पनि बिर्सने रोगबाट पीडित हुनुहुन्छ