नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ?

भाद्र १८,२०७५

-

१८ भदौ, २०७५ काठमाण्डौ l
 
 डा. कपिल देव उपाध्याय, मनोचिकित्सक
 
हाम्रो शरीर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन् भने टाउकोभित्र मस्तिष्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइराखेको छ । शरीर नै शक्ति हो भने हाम्रा विचारहरु, भावनाहरु सबै शक्ति भए ।
 
हाम्रो शरिरलाई विभिन्न रोगहरुबाट बचाउन शरिर भित्रै, प्रतिरोधात्मक क्षमता छ अर्थात् रोगहरुसँग लड्ने निकै शक्तीसाली फौज छ वा आर्मी छ । रोगसँग लड्ने यो प्रतिरोधात्मक क्षमता यति बलियो छ कि हरेक किसिमका रोगका किटाणुहरुलाई मार्न सक्छ। निस्कृय पार्न सक्छ । जब हाम्रो यो प्रतिरोधात्मक क्षमता  कमजोर हुन्छ, शरिरमा रोगले आक्रमण गर्न थाल्दछन् र जति प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यति रोगले जकड्दै जान्छ ।
 
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता जति बलियो छ त्यति हामी निरोगी हुन्छौ । प्रश्न आउँछ, कसरी यो क्षमतालाई कमजोर हुन नदिने वा बलियो बनाई राख्ने ? हाम्रो जीवनशैलीमा ध्यान दियौं भने सजिलै छ । जस्तै चुरोट, सुर्ती, खैनी आदि सेवन नगर्ने, फलफूलहरु, हरियो सागपात, गेडागुडी आदी खानामा समावेस गर्ने, बढी चिल्लो खानेकुराहरु र चीनीको प्रयोग सकेसम्म कम गर्ने गर्दा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुँदैन रहेछ । तर यतिले मात्र पुग्दैन । नियमित शारिरिक व्यायाम गर्ने, आफ्नो तौल बढ्न नदिने अर्थात् नमोटाउने र प्रदुषित वातावरणबाट बच्नुपर्दो रहेछ । सरसफाईमा ध्यान दिने, सात घण्टा नियमित सुत्ने, जकफुड नखाने र मानसिक तनाव छ भने त्यसको व्यवस्थापन गर्नु पर्दो रहेछ ।
 
एउटा महत्वपूर्ण कुरा त अझ बाँकी नै छ, त्यो हो नकारात्मक भावनाहरु र विचारहरु । भनिन्छ ८५ प्रतिशत जति रोगहरु हृदय रोग र क्यान्सर लगायत नकारात्मक भावनाहरु र सोचहरुबाट प्रभावित हुन्छन् । यी नकारात्मक भावनाहरु र सोचहरुले रोगसँग लडने प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छन् ।
 
एउटा उदाहरण 
 
धेरै वर्ष पहिले हिमाली क्षेत्रको एउटा गुफामा एकजना सिद्ध पुरुष बस्नुहुन्थ्यो । उहाँलाई भेट्न र ज्ञान सिक्नको लागि धेरै टाढा–टाढा वाट मानिसहरु आइरहन्थे । नजिकैको गाउँबाट भेडा चराउन एउटा गोठालो त्यहीँ गुफा नजिकै आउने रहेछन् । मानिसहरुको आवत–जावत र त्यो गुफा वरीपरी भिड लागिरहेको हेर्दै दिन बिताउन गाठालोलाई सजिलो लाग्ने रहेछ । मानिसहरु ती सिद्ध पुरुषसँग के सिक्न आउने रहेछन् रु जान्ने उत्सुकता गोठालोलाई लागेछ र एकदिन अरु मानसिहरु नभएको बेला पारेर सन्तकहाँ गएछन् र अनुरोध गरेछन्, ‘मलाई पनि केही सिक्न मन लाग्यो । के मैले सिक्न सक्छु ?’
 
ती सिद्ध पुरुषले गोठालोलाई भनेछन्, ‘हुन्छ सिक्न सक्छौ । तिमीले २ वटा झोला तयार पारेर लिएर आउ ।’ गोठालोले २ वटा झोला लिएर आएछन् । सन्तले भने, ‘तिमी जुन ठाउँमा बसेर धेरै समय वबिताउँछौ । त्यहाँ सेतो र कालो रंगका ससाना ढुङ्गाहरु जम्मा पार । एउटा झोला आफ्नो दाहिनेतर्फ र अर्को वायाँतर्फ राख । अब तिमीले तिम्रो मनमा हेर, मनमा कस्तो विचारहरु आउने रहेछन् हेर । राम्रो विचार आए एउटा सेतो ढुङ्गा दाहिने तिरकोे झोलामा राख । नराम्रो विचार आए वायाँ तिरको झोलामा कालो ढुङ्गा राख । २ र ३ दिन यो प्राक्टिस गरेपछी भेट ।’
गोठालोले पनि सन्तले भने जस्तै गर्न लागेछ । आफ्नो बारे, आफ्ना गाउँका मान्छेहरु बारे, भेडाहरु बारे नराम्रो वा खराब विचारहरु मात्र बढी आउने रहेछन् ।
 
तीन दिनपछि सन्तकहाँ आएर गोठालोले आफ्नो अनुभव बताएछन् । ‘सुरु–सुरुमा यस्तै हुन्छ, तिमी आफ्नो मनमा हेर्ने र ढुङ्गा झोलामा राख्ने प्राक्टिस गरिराख । केहिी समयपछि फेरी भेट,’ सन्तले भने ।  गोठालोले जति प्राक्टीस गर्दै गए नराम्रा बिचारहरु घट्दै गएको र राम्रा विचारहरु बढ्दै गएको अनुभव गर्न थाले ।
 
भनिन्छ ७५ प्रतिशत हाम्रा विचारहरु नकारात्मक हुन्छन् र तिनैको प्रभावमा हामी हुन्छौ । विचार पनि यति छिटो–छिटो आउने र जाने गर्छन् कि हामीलाई थाहा पाउन नै मुस्किल हुन्छ । मन एकत्रीत गरेर विचार हेर्न लाग्यो भने केही समयपश्चात आफ्नो विचार पहिल्याउन सक्ने भइन्छ । जब विचारहरुलाई चिनिन्छ, नकारात्मक विचार आयो भने किन आयो, के सन्दर्भमा आयो थाहा पनि पाइन्छ । यदि नराम्रा विचारहरु आएर दुःख दिने रहेछन् भन्ने थाहा पाइयो भने ति स्वत: घट्न थाल्छन र राम्रा विचारहरु बढ्दै जान्छन् अर्थात् सहयोगी भाव, प्रेम भावहरु बढ्दै जान्छन् ।
 
नकारात्मक भावनाहरुमा रिस, लोभ, घृणा, इर्ष्या र डरहरु मुख्य मानिन्छन्, त्यसो त अरु धेरै नकारात्मक भावनाहरु पनि छन् । त्यसैले शरीर, मन र वचनले कसैको हानी नगर्नु, कसैको चित्त नदुखाउनु भनेको होला । नकारात्मक भावबाट मुक्त हुनको लागी आफुले कसैको मन दुखाएको भए आफैलाई माफ गर्ने र अरुले आफ्नो मन दुखाएको भए अरुलाई माफ गर्ने  अभ्यास गर्नुपर्छ । प्राय: अरुलाई माफ गर्न मानिसहरु तयार हुँदैनन्, आफूभित्रको अहंले गर्दा बदलाको भावना लिइरहन्छन् । जुन नकारात्मक भाव हो । यस्तो गर्नु आफ्नै खाल्डो खन्नु हो, किनकि रोगसँग लड्ने क्षमता आफ्नै घट्छ र रोगको शिकार भइन्छ । कुनै सर्त बिना आफ्नो मन दुखाउने, आफुलाई दुःख दिनेहरुलाई आफ्नो मन मनै माफी दिनु उत्तम हो । 
 
मन दुखाउने व्यक्तिहरु कहाँ गएर वा भेटेर ‘मैले माफी दिए’ भन्नु पर्दैन । आफ्नो मनको भावमा परिवर्तन गर्ने हो, रिसको भाव, इर्ष्याको भाव र बदलाको भावको भारी बिसाउने हो। आफु ती भावबाट मुक्त हुनु हो । तर केहि व्यक्तिहरु अरु प्रति रिस, घृणा र बदलाको भावना बोकेका कारण चिन्ता रोग, डिप्रेसनका लक्षणहरु लिएर आउने गरको मैले भेटेको छु । एकजना अधवैंसे महिला लामो समयदेखि टाउको दुख्ने, मन निराश हुने र निन्द्रा नलाग्ने समस्या लिएर आउनु भयो । खोतल्दै जाँदा उहाँलाई डिप्रेसन भएको रहेछ । मानसिक तनाव दिने कारणहरु सोद्धा उहाँलाई सबै आफन्तजनले धोखा दिएका छन्,  दुःख दिएका छन र सताएका छन् भन्नुभयो । तनाव कम गर्नु पर्यो । मनमनै तिनीहरु सबैलाई माफ गर्नुस् अनि छिटो निको हुनुहुन्छ भन्दा ‘कुनै पनि हालतमा माफ गर्न त सक्दिन’ भन्नुभयो ।
 
त्यस्तै हामी धेरै कुराहरुलाई लिएर डराइरहेका हुन्छौं । चिन्ता लिइरहेका हुन्छौं । जस्तै परिवारका सदस्यहरुलाई केहिी हुन्छ कि ? आफूलाई रोग लाग्छ कि ? दिमागले काम गर्दैन कि ? आदि आदि । आफ्नो परिवारसँग समय बिताउंदा बच्चाहरुसँग खेल्दा, योग वा ध्यान गर्दा यी नकारात्मक सोचहरु घट्छन् ।
 
नकारात्मक भावनाहरुले मानसिक तनाव बढ्छ । लगातारको मानसिक तनावले रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र कुनै रोगले आक्रमण गर्छ । रोग लागेपछि यसले मानसिक तनाव अझ बढाउँछ र रोग घटनुका सट्टा बढ्छ । त्यसैले जो व्यक्तिहरु आक्रमक खालका छन् । रिसाहा प्रवृत्तिका छन् । जहिले पनि दौडधुप मात्र गर्छन् र आराम गर्न चाहँदैनन, निन्द्रा पुग्दैन, खानपिनमा ध्यान दिदैनन् । परिवारसँग समय बिताउँदैनन्, उनीहरुलाई बढी स्वास्थ्य समस्याहरु हुन्छन् र कतिलाई हृदयघात हुने खतरा समेत हुन्छ । नकारात्मक सोचहरुले मानसिक तनाव बढाउँछन् । लगातारको मानसिक तनाव महिनौंसम्म रहीरहेमा शारिरको रोगसँग लड्ने क्षमता घट्छ र विभिन्न रोगहरुले सताउन थाल्छन् । नकारात्मक सोचहरु बढी आउनु भनेको चिन्ता बढ्नु हो र जति चिन्ता बढ्यो त्यति डर लाग्ने र आत्तिने हुन् ।  
 
त्यसैले रिसलाई, निराशापनलाई, डरलाई र मानसिक तनावलाई बेवास्ता नगर्नुस् र आफ्नो जीवन शैलीलाई सुधार्नुस् । स्वस्थ्य रहन चाहनुहुन्छ र आनन्दको जीवन जीउन चाहनुहुन्छ भने यो नै मन्त्र हो । साभार : स्वास्थ्य खबरपत्रिका
 
यो पनि पढ्नुहोस्- शान्ति र आनन्द सबैलाई चाहिन्छ, होइन र ?