झुटो बोल्ने बच्चा पछि गएर बुद्धिमान हुने अध्ययनको निष्कर्ष

भाद्र १९,२०७५

-

१९ भदौ, २०७५ काठमाण्डौ l
 
 
क्यानडाको टोरन्टो विश्वविद्यालयले गरेको एक अध्ययनमा सानो उमेरमा झुटो बोल्ने बच्चाको पछि गएर संज्ञानात्मक क्षमता राम्रो हुने दाबी गरिएको छ । सजिलो शब्दमा भन्नुपर्दा झुटो बोल्ने बच्चा पछि गएर टाठो र बुद्धिमान् हुन्छ । 
 
विश्वविद्यालयका क्याङ ली भन्छन्, ‘आमाबुवा, शिक्षक र समाजमा सबै मानिस बच्चाहरू सानै उमेरदेखि झुटो बोल्दा पछि त्यसको परिणाम गम्भीर हुने बताउँछन् । तर अनुसन्धानको नतिजामा सानो उमेरमा झुटो बोल्ने र ठूलो भएपछि झुटो बोल्ने मानिसमा अन्तर भएको देखिन्छ । सानैमा झुटो बोल्नेको बुद्धि विकास हुन्छ ।’
 
जर्नल अफ एक्सपेरिमेन्टल चाइल्ड साइकोलोजीमा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताहरूले प्रिस्कूलमा पढ्ने उमेरका ४२ बालबालिकामा अनुसन्धान गरे । उनीहरूले लुकामारी खेल्दा शुरूमा झुट बोल्ने क्षमता प्रदर्शन गरेनन् । पछि उनीहरूलाई दुई समूहमा बाँडियो जसमा केटा र केटीको संख्या बराबर थियो र उनीहरूको औसत उमेर ४० महिना वा लगभग तीन वर्ष थियो । चार दिनसम्म उनीहरूले एउटा खेल खेले जसमा उनीहरूले एक खेलौना वयस्कलाई छक्याएर एक हातमा लुकाउनुपर्ने हुन्थ्यो ।
 
बच्चाले वयस्कसँग झुट बोल्न वा ठग्न सफल भएमा उसलाई त्यो खेलौना राख्न दिइन्थ्यो । दुई समूहमा एक समूहमाथि परीक्षण गरिएको थियो भने अर्कोलाई कन्ट्रोल ग्रूप मानेर परीक्षण गरिएको थिएन । 
 
पछि उनीहरूलाई परीक्षण गरियो जसमा आत्मनियन्त्रण, मस्तिष्क सिद्धान्त, शासनात्मक क्रिया र अर्को व्यक्तिको मनसाय बुझ्ने जस्ता कुराको जाँच गरियो । झुट बोल्न र धोका दिन सिकाइएका बच्चाले जाँचमा कन्ट्रोल ग्रूपका बच्चाहरूभन्दा राम्रो प्रदर्शन गरे ।
 
अनुसन्धानकर्ताहरूले बच्चालाई टाठो र बुद्धिमान् बनाउनका लागि जानीबुझी झुटो बोल्न सिकाउनु चाहिँ गलत भएको बताएका छन् । एजेंसी