युट्युवमा काम गर्नेलाई पत्रकारिता मान्ने कि नमान्ने ?

श्रावण १३,२०७६

Binod Tripathi

-

 लामो समय मुलधारको पत्रकारिता त्यस माथि छापामाध्यममा शशक्त पत्रकारिता गरेका विनोद त्रिपाठीले पछिल्लो पटक बहसमा आएको युट्युवको पत्रकारितालाई छर्लंग पारेर ब्याख्या गरिदिएका छन् । कान्तिपुरमा संवाददाता, उपसम्पादक र पछिल्लो पटक सौर्य दैनिकमा सम्पादक बनिसकेका त्रिपाठीले युट्युवको पत्रकारितालाई स्पष्ट ढंगले परिभाषित गरेर सबैलाई पत्रकारितामा जिम्मेवारी बन्न आग्रह गरेका छन् । युट्युव पनि अब पत्रकारिताकै हिस्सा भइसकेको चित्रण गर्दे त्रिपाठीले अनलाईन र युट्युव बारेमा आफ्नो धारणा यसरी सार्बजनिक गरेका छन् ।
-विनोद त्रिपाठी-
 पछिल्लो पटक युट्युवमा काम गर्नेलाई पत्रकारिता मान्ने कि नमान्ने बहस शुरु भएको छ ।  तर, यसलाई पत्रकारिताको मुलधारमा नल्याई सुखै छैन । कसरी ? 
०४५ साल अघि नेपालमा टेलिभिजन र रेडियोमा काम गर्नेलाई पत्रकार नै मानिन्थेन । पत्रिकामा समाचार लेख्नेलाई मात्र पत्रकार भनिन्थ्यो । पत्रकारको परिभाषा कागजसंग जोडिएको छ । पत्र अर्थात कागज र कार अर्थात कारिन्दा । पत्रमा काम गर्ने, लेख्ने ब्यक्ति । नेपालमा पत्रकारिताको पढाई शुरु भएपछि यसको परिभाषालाई ब्यापकता गरियो । रेडियो टेलिभिजनको त कुरैं छोडिदिनुस, पत्रिकामा काम गर्ने कम्प्युटर अपरेट, डिजाइनर लगायतले पत्रकार महासंघको सदस्यता पाउँदैनथे । अन्तराष्ट्रिय प्रचलन र बिधी अनुसार प्रेसलाई अघि बढाउने निर्णय धेरैपछि अर्थात बहुदल आएपछि शुरु गरिएको हो । २०४२ साल पुसमा नेपाल टेलिभिजनको शुरुवात भएपछि नेपालमा टेलिभिजनको दुनियाले प्रबेश पायो । नेपाल पत्रकार महासंघले सबैलाई समेट्न छापामाध्यम बाहेकलाई पत्रकारितामा समेट्नुपर्ने बहस प्रारम्भ गर्यो । प्रबिधीको बिकाससंगै पत्रकारिताको दायरा फराकिलो बनाइएको भर्खर मात्र हो भन्ने हेक्का राख्न सबैले जरुरी छ । नेपालमा रेडियो, अनलाईन, टेलिभिजनलाई पत्रकारितामा समेट्न थालेको डेढ दशक पनि नाघेको छैन । अनलाईन दर्ता शुरुवात त भर्खरैदेखि भएको सबैलाई अवगत नै छ । त्यसैले, यो मपाईंत्व नत्यागेसम्म तपाई असली पत्रकार होइन । अहिले पत्रिकाको ठाउँ अनलाईनले र टेलिभिजनको स्थान युट्युबले खाएकोले आआफ्ना जलनको परिभाषा बदल्न सक्नुपर्छ ।
  हामी पनि कुनैबेला धेरै दम्भी थियौं । अझ कतिसम्म भयो भने हामी मुलधार त्यसमा पनि देशकै सबैभन्दा ठुलो मिडियामा पत्रकारिता गर्नेले त साना मिडियामा काम गर्नेलाई पत्रकार नै गन्दैनथ्यौं । पत्रिकामा काम गर्नेले टिभीतिरकालाई पत्रकार भन्दैनथ्यौं । यो त्यो बेलाको दम्भ थियो । प्रबिधीले सबैलाई बदल्यो । अहिले सबै संचारमाध्यममा काम गर्ने सबै पत्रकार भए । त्यसैले, युट्युब, अनलाईन पनि अब पत्रकारिता क्षेत्रको महत्वपुर्ण हिस्सा बनिसकेको छ । अब युट्युवरहरु पत्रकार भइसकेका छन् । यदि हिजो पत्रिकामा काम गर्नेलाई मात्र पत्रकार मान्ने नियम बसिरहेको भए अहिले टेलिभिजन र रेडियोमा काम गर्ने पनि कसरी पत्रकार हुन्थे ? त्यसैले, युट्युव, अनलाईन पनि संचारको दुनियामा पत्रकारिताको महत्वपुर्ण हिस्सा बनेर प्रबेश गरिसकेको बास्तविकता भुल्न हुँदैन । आफ्नो धरातल कसैले नभुलौं । प्रबिधीलाई पछ्याइन्छ भने प्रबिधीले सिकाएका सुबिधालाई आत्मसाथ गर्न सिकौं । अहिले नेपालका केहि टेलिभिजनमा काम गर्ने केहि ब्यक्तिहरु एकदम जिम्मेवार÷गैरजिम्मेवार दुवै छन् । युट्युव चलाउनेहरु कतिपय ब्यक्तिहरु एकदम जिम्मेवार÷गैरजिम्मेवार दुवै छन् । युटयुव र अनलाईन मात्र होइन, पत्रिका, टिभी, रेडियो सबैलाई ब्यबस्थित र मर्यादित बनाउन जरुरी छ । तर, पत्रकारिताको परिभाषा सांगुरो बनाएर कसैलाई फाइदा छैन ।