व्यक्तिको स्वभाव र वर्ण व्यवस्थाको अन्तरसम्बन्ध

आषाढ ३०,२०८०

-यज्ञप्रसाद भट्टराई

असार ३०, २०८० काठमाडौं ।              
हामीले हाम्रो घर, परिवार, छिमेक, समाज तथा कार्यक्षेत्रमा हरेक व्यक्तिसंग संगत गरेका वा देखे भोगेका हुन्छौ। हरेक व्यक्तिको शारीरिक बनावट, कद, रुप, रङ्ग, हाउभाउ, रुची, स्वभाव, ईच्छा आकाँक्षा, प्रवृति, भावना बिभिन्न प्रकारका वा थरिथरीका पाउने गरेका छौ। कुनै व्यक्ति वौद्धिक हुन्छन वा ज्ञान ध्यानको मार्गमा लागेका हुन्छन। कुनै व्यक्ति पद, पैसा, प्रतिष्ठा तथा शक्ति प्राप्तिमा लागेका हुन्छन। कुनै व्यक्ति जे जसरी हुन्छ धन सम्पति कमाउन वा थुपार्नतिर लागिपरेका हुन्छन। कुनै व्यक्ति आलस्य प्रवृत्तिका वा जिवनमा के गर्ने वा के नगर्ने भन्ने पत्तो नै नपाई त्यसै अलमलिएका अल्छी,आलस्य प्रवृतिका देखेका हुन्छौ। 
 
कुनै व्यक्ति केही नगरी खाली वस्न नसक्ने वा केही गरिरहनु पर्ने वा वोलिरहने वा दोस्रोको कुरा गरिरहने वा आफ्नो प्रचारप्रसारमा माहिर व्यक्तिहरु देखेका छौ भने कुनै व्यक्ति खाली नकारात्मक कार्य वा अपराधिक कार्यहरुमै लागिरहने खालका पनि देखेका हुन्छौ। कुनै व्यक्ति बाहिरी आवरण वा सुटबुट वा मेकअपमा बढी रुची राख्ने वा दिनदिनै पोसाक फेरिरहने तथा कुनै व्यक्ति बाहिरी आवरणमा वा लवाई खवाईमा त्यति वास्ता नगर्ने खालका पनि देखेका छौ।त्यसैगरी कार्यालयतिर हेर्ने हो भने कुनै व्यक्ति काम नगर्ने वा कलम नचल्ने तर बोलेर मुखले ठिक्क पार्दै चाहार्ने हिडने खालका र कुनै व्यक्ति कम बोल्ने काम गरिरहने खालका रहेभएको देखेका छौ।
 
त्यसैगरी समाजमा हामीले जन्मकै आधारमा ब्रह्माण वा क्षत्रिय हुन्छन भनी धारणा बनाएका छौ र जातीय आधारमा विभेद गरिरहेका देख्छौ।यस्तै यस्तै बिभिन्न किसिम र प्रकारका प्रवृति,स्वभाव र व्यवहार भएका व्यक्तिहरु हामी  हुन्छौ।यी सबै कुराहरुमा व्यक्तिको व्यक्तित्व तथा स्वभावले प्रभाव पारेको हुन्छ। यस लेखमा व्यक्तित्वको अवधारणा, व्यक्तिका प्रकार, व्यक्तिको स्वभाव,व्यक्तिको स्वभाव र वर्णव्यवस्थाको मनोवैज्ञानिक सम्बन्धको बारेमा चर्चा गर्न खोजिएको छ। शास्त्रमा बताए अनुसार गुरुको ऋण चुक्ता गर्ने एकमात्र उपाय भनेको जो गुरुबाट पाएका हुन्छौ त्यसलाई बाडनु हो।यस आलेखमा खासगरी अन्तरमुखी र बहिर्मुखी व्यक्ति र वर्ण व्यवस्थाको बारेमा सत्गुरु ओशोले दिनु भएको ज्ञानका कुराहरुलाई बाँडने प्रयास गरिएकोछ।
 
१.व्यक्तित्वको परिचय
कुनै पनि व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण एवं क्षमता वा व्यक्ति विशेषको निजीपन वा व्यक्तिले अरुलाई प्रभावित पार्ने व्यक्ति विशेषमा निहित विशेषता नै व्यक्तित्व हो। व्यक्तित्व अंग्रेजी शब्द पर्सनालिटी शव्दको रुपान्तरण हो। अङग्रेजीको उक्त शव्दको उत्पति युनानी भाषा पर्सोना शव्दबाट आएको हो जसको अर्थ नकाव हुन्छ। युनानका व्यक्तिले नकाव वा मुखौटा पहिरेर मञ्चमा अभिनय गर्दथे।दर्शकगणले अभिनय गर्नेवाला कुन हो भन्नेकुरा जान्न सक्दैनथे। व्यक्तित्वको अर्थ मनुष्यको व्यवहारको त्यो शैली हो जसले आफ्नो आन्तरिक तथा वाह्य गुणको आधार प्रकट गर्दछ।व्यक्तिको वाह्य गुणको प्रकट उसले लगाउने पोशाक,उसले वोल्ने वाणी, संवादको शैली, शरीरको हाउभाउ वा अभिनय, चालचलन, व्यवहार एवं उसको आदत तथा अन्य अभिव्यक्तिबाट जानकारी हुन्छ। त्यसैगरी व्यक्तिको आन्तरिक गुणको प्रकट उसको अन्तरप्रेरणा, उसको लक्ष्य, उद्धेश्य, संवेग, भावना,ईच्छा जस्ता अन्तरनीहित तत्वहरुबाट हुन्छ। व्यक्तित्व कुनै व्यक्तिको समस्त गुणको त्यो प्रतिरुप हो जो उसको वाह्य तथा आन्तरिक विशेषताको कारण उसलाई अन्य व्यक्तिबाट भिन्न ईकाईको रपमा स्थापित गर्दछ। 
 
कुनै पनि व्यक्तिको व्यक्तित्वको प्रतिविम्बको प्रक्षेपण उसको अवलोकन वा उसद्धारा व्यक्त क्रियाको आधारमा अनुमान गर्न सकिन्छ। व्यक्तित्वलाई विभिन्न विद्धानहरुले अर्थ्याईएको पाईन्छ। विद्धान मनले व्यक्तित्व व्यक्तिको व्यवहारको तरीका,रुची, दृष्टिकोण,क्षमता तथा शैली समेत समग्रको विशिष्ट संगठन हो भनी भनेका छन। विग व हन्ट अनुसार व्यक्तित्व एक व्यक्तिको सम्पूर्ण व्यवहारको प्रतिमान तथा उसको विशेषताको जोड हो।वारेनले व्यक्तित्व व्यक्तिको सम्पूर्ण मानसिक संगठन हो जो उसको विकासको कुनै अवस्थामा हुन्छ भनी भनेका छन। रैक्सका अनुसार व्यक्तित्व समाजद्धारा मान्य तथा अमान्य गुणको संगठन हो। 
 
अत व्यक्तित्व भनेको व्यक्तिको समग्र पक्षको धारणा हो। सामान्यतया व्यक्तित्वको अभिप्राय व्यक्तिको वाहिरी रुप,रङ्ग,कद,लम्बाई,चौडाई वा शारीरिक संरचना एवं उसको अन्तरनीहित भित्री गुण,क्षमता व्यवहार,मृदुभाषिता, ईच्छा, भावना, संवेदना जस्ता अन्तसका तत्वको समग्र अबस्थालाई जनाउछ र यी समस्त गुण नै व्यक्तिको समस्त व्यवहारको दर्पण हो। वास्तवमा व्यक्तित्व व्यक्तिको जिवनको विभिन्न पक्षको समिश्रण मात्र नभई यसको विकासक्रम अत्यन्त व्यापक र जटिल छ र व्यक्तित्व अनेक कारक वा व्यवहारको समग्र रुप वा समिश्रण हो।
 
२.व्यक्तिका प्रकार
व्यक्ति भनेको मानिस हो।मानिसलाई छुट्टै अस्तित्व भएको प्राणीको रुपमा लिईन्छ।कुनै व्यक्तिमा विशेष रुपमा नीहित गुण वा क्षमतालाई थाहा पाउन वा व्यक्तिका निजी विशेषताको वारेमा बुझ्नको लागि पनि व्यक्तिका प्रकारको वारेमा थाहा पाउनु आवाश्यक हुन्छ।
 
व्यक्तिलाई विभिन्न  दृष्टिकोणबाट विभिन्न पक्ष एवं आधारमा बाडिएको पाईन्छ।शरीर रचनाको आधारमा, समाजशास्त्रीय आधारमा र मनोवैज्ञानिक लक्षणको आधारमा व्यक्तिलाई विद्धानहरुले विभाजन गरेको पाईन्छ। जर्मन विद्धान क्रेश्मरले शरीर संरचनाअनुसार व्यक्तित्व शक्तिहिन, खिलाडी र नाटा गरी तीन प्रकारमा बाडेका छन। समाजशास्त्री स्प्रेगरले सामाजिक कार्य र स्थितिको आधारमा सैद्धान्तिक,राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक र कलात्मक गरी छ प्रकारमा विभाजन गरेका छन। मनोवैज्ञानिकहरुले मनोविज्ञानको लक्षणको आधारमा विभाजन गरेको पाईन्छ।मनोविष्लेषणवादीले व्यक्तित्वलाई अन्तरमुखी,बहिर्मुखी र उभयोमुखी गरी  बाँडिएको पाईन्छ। गुस्तावजङ्ले व्यक्तिलाई दुई प्रकारमा बाँडेका छन।जसमा अन्तरमुखी र बहिर्मुखी पर्दछन।विशेषताको आधारमा व्यक्ति अन्तरमुखी र बहिर्मुखी हुन्छन।
 
क. अन्तरमुखी व्यक्ति (ईन्ट्रोवर्ट पर्सन)
अन्तर्मुखीको अर्थ भित्रतर्फ एवं अन्तसकरणतर्फ उन्मुख हुने प्रवृति भएको भन्ने हुन्छ। वाहिरी जगत, क्रियाकलाप वा विषय भन्दा भित्री आध्यात्मिक कुराहरुमै लिन हुने साथै आफ्नै विचार र कल्पनामा तल्लिन रहने र वाहिरी जगततर्फ कम रुची राखी आफ्नो मनलाई आफैमा वा आफूभित्रै केन्द्रित गर्ने र अरुसंग उती सम्पर्क नराख्ने वा बढी हिमचम नबढाउने आत्मकेन्द्रित स्वभाव भएको व्यक्ति नै अन्तरमुखी व्यक्ति हो।जुन व्यक्ति आरक्षित हुन्छ वा सजिलै खुल्दैन त्यो व्यक्ति अन्तरमुखी हुन्छ। अन्तरमुखी व्यक्ति स्वयम आफ्नो विचार र भावनामा व्यस्त रहन्छ । यस प्रकारको व्यक्तिले आफूलाई अकेलापनमा सहज र उर्जावान महशुस गर्दछ। यस्ता स्वभावका व्यक्तिहरु बढी पढन, लेख्न, संगित सुन्ने जस्ता कार्यमा बढी प्राथमिकता दिन्छन साथै तथ्य, भावना, कल्पनामा रमाउने र चिन्तनशील हुने गर्दछन। व्यक्तिको लक्षण, स्वभाव, आदत, अभिवृति आदि वाह्यरुपमा प्रकट हुँदैन यसैले अन्तरमुखी भनिन्छ। व्यक्तिको विकास बाह्यरुपमा नभई आन्तरिक रुपमा बढी हुन्छ।
 
अन्तरमुखी व्यक्तित्वका विशेषताहरुमा वाह्य जगतका वस्तुहरु प्रति कम अनुराग हुने,एकान्तमा रहन मन पराउने, कर्तव्यपरायण भई समयको सदैव ध्यान राख्ने, बढी हाँसिमजाक गर्न नचाहने, धुर्त चतुर एवं छलकपट गर्ने कार्यमा कुशलता नहुने, आत्मचिन्तन र आत्मरुपान्तरणमा लिन रहने, स्वयममा चिन्तनशील रही शान्त मुद्रामा रहनसक्ने,बढी संवेदनशील हुने, सामाजिक अन्तरक्रियामा कम रुची राख्ने, एकान्तमा अधिक समय विताउने, कुनैपनि कुरा ध्यानपूर्वक सुन्ने,मौन रहने,चिन्तनशील रहने, संयमी रहने, सोँचेर वोल्ने, स्वयममा लिन रहने, परिवर्तनलाई सहज स्वीकार नगर्ने, एकाग्र रहने जस्ता गुण एवं विशेषताहरु हुन्छन।
 
अन्तरमुखी व्यक्तिहरु  विचारप्रधान, भाव प्रधान, तर्क प्रधान, दिव्यदृष्टि प्रधानगरी चार रुपमा विभक्त हुन्छन। यस्ता व्यक्तिहरु कुशल लेखक हुन सक्दछन भने कुशल वक्ता हुन सक्दैनन किनभने उनीहरुको चिन्तनमननको धरातल प्रवल हुन्छ।यी व्यक्तिहरु प्रतिक्रियावादी हुन्छन र आफ्नो आनीवानीलाई यथार्थ स्वभाव अनुकूल ढाल्ने प्रयास गर्दछन।वाहिरी दुनियाको तुलनामा आन्तरिक दुनियामा झुकाव राखी आफ्नो व्यक्तिगत गतिबिधिमा समय विताउन प्राथमिकता दिन्छन । 
 
ख. बहिर्मुखी व्यक्ति (एक्स्ट्रोवर्ट पर्सन)
वाहिरी कुराको मात्र विचार गर्ने वा वस्तु जगततिर दृष्टि भएको व्यक्तिलाई बहिर्मुखी भनिन्छ। त्यसैगरी आध्यात्मिक कुरातिर मन नलगाउने र बाह्य संसार वा सामाजिक जिवनका गतिबिधिमा प्रशस्त अभिरुची लिने तथा सहभागी हुने व्यक्तित्व बहिर्मुखी हो। सामाजिक रुपमा आश्वस्त  एवं मानव संपर्कमा बढी आनन्द लिने र मुखर व्यक्ति हो।यस्ता व्यक्तिहरु अधिक सामाजिक हुने र उत्साही स्वभावका हुन्छन।
 
बहिर्मुखी व्यक्तिका विशेषताहरुमा संचार कौशल बढी हुने, सामाजिक समारोहमा आनन्दित मान्ने, बाह्य जगतमा बढी रुची हुने, आफ्ना बढी प्रशंसक वनाउन चाहने, वातावरणमा सजिलै घुलमिल हुने, वाक पटुकता भएका, परिवर्तनको लागि अनुकूलन भएका, व्यापक सामाजिक दायरा भएका, नेतृत्वशैली भएका, नवीनताको लागि खोज गर्ने, समूह बनाएर कुरा गर्न रमाउने,झुण्डमा रमाउने र रहने, वोलेपछि सोच्ने, परिवार र साथिभाईसंग अधीक समय विताउने,वाहिर केन्द्रित हुने, कसैको साथमा आफ्नोवारेमा धेरै प्रसंशा गर्ने र  परिवर्तनलाई सहजै स्वीकार गर्ने साथै धेरै समय एकाग्र रहन नसकी विचलित हुने जस्ता विशेषता रहेका हुन्छन। 
 
३. व्यक्तिको स्वभाव र आध्यात्मिक मार्ग 
 व्यक्तिको आफ्नो स्वभाव र व्यक्तित्व अनुसार आध्यात्मिक मार्ग वा धर्मको मार्ग पनि फरकफरक हुन्छ। अन्तरमुखी व्यक्ति ज्ञानयोगी हुन्छ भने बहिर्मुखी व्यक्ति कर्मयोगी हुन्छ।ज्ञानको लागि भित्र जान जरुरी हुन्छ भने कर्मको लागि वाहिर जान जरुरी हुन्छ।कर्म कसैले भित्र गर्न सक्दैन त्यसैले कर्मको लागि बाहिर जानु पर्दछ साथै बहिर्खुखी हुनु आवाश्यक छ। जति कर्मठ व्यक्ति हुन्छ उती आफूलाई वाहिर लानु पर्छ। कर्म बहिर्मुखी व्यक्तिको मार्ग हो।योग बहिर्मुखी व्यक्तिको मार्ग बन्छ। 
 
साँख्य अर्थात ज्ञान वा ध्यान अन्तरमुखी व्यक्तिको लागि मार्ग बन्छ। जो व्यक्ति अन्तरमुखी छ उसको लागि साँख्य प्रयाप्त हुन्छ। जो व्यक्ति बहिर्मुखी छ उसले साँख्य वा ज्ञान पकडन सक्दैन। जुन बहिर्मुखी व्यक्ति छ उसको लागि धर्म सेवा बन्छ र अन्तरमुखी व्यक्तिको लागि धर्म ध्यान बन्छ। अनतरमुखी ब्यक्तिको लागि सेवा समझमा आउदैन भने बहिर्मुखी व्यक्तिको लागि ध्यान समझमा आउदैन।बहिर्मुखी व्यक्ति भित्र डुव्न सक्दैन उसले जे गर्ने हो वाहिर गर्छ।
 
जुन व्यक्तिको जुन मात्रा वा तत्व बढी हुन्छ उसले त्यही मार्ग अबलम्वन गर्नु पर्छ वा मार्ग एक चुन्नु पर्छ।जो बहिर्मुखी छ उसलाई योग उपयोगी हुन्छ जो अन्तरमुखी छ उसको लागि ज्ञान  अर्थात ध्यानको मार्ग उपयोगी हुन्छ।मार्ग एउटा चुन्नु पर्छ दुई तर्फ खुट्टा हाल्यो भने गन्तब्यमा पुग्न कठीन हुन्छ। सांख्यले भन्छ ज्ञान ठीक हो र योगले भन्छ साधना,कर्म,श्रम ठीक हो। 
 
सत्गुरु ओशो भन्नुहुन्छ अन्तरमुखी व्यक्ति भित्र डुव्दा डुव्दा यति भित्र पुग्छकी भित्र केही पनि बाँकी रहँदैन शून्य हुन्छ तब उसले एक पाँउछ।बहिर्मुखी व्यक्ति अन्तत पूर्णतालाई पकडछ भने अन्तरमुखी व्यक्तिले शून्यलाई पकडछ। शून्य र पूर्ण दुवैले एक अर्थ राख्छ। बहिर्मुखी व्यक्ति वाहिरको यात्रा गर्दा गर्दै पूर्णतामा पुग्छ भने अन्तरमुखी व्यक्ति पनि भित्रको यात्राबाट पूर्णतामा शून्यतामा पुग्छ। बहिर्मुखी व्यक्तिले आफ्नो अन्तसको काटेर फ्याक्छ भित्र बाँकी केही रँहदैन र अन्तरमुखी व्यक्तिले बाहिरको सबै भुल्छ बाँकी केही रहँदैन। बाहिर र भित्र एक सिक्काका दुई पाटा हुन यसर्थ दुई मार्ग छन। या त बाहिरलाई फ्याक्नु पर्छ यात भित्रलाई फ्याक्नु पर्छ। जुन व्यक्तिले परमात्मालाई पूर्णतामा लिन्छ त्यस व्यक्तिले बहिर्यात्रा गरेको हुन्छ। 
 
जसले परमात्मालाई शून्यको तरह सोँच्छ त्यसले अन्तरयात्रा गर्दछ। जसलाई विधायक वा सकारात्मक शब्द प्रितिकर लाग्छ त्यस्तो ब्यक्ति बहिर्मुखी हुन्छ।जुन ब्यक्तिलाई नकारात्मक वा निषेधात्मक शव्द प्रितिकर लाग्छ त्यस्ता व्यक्ति अन्तमुखी हुन्छन। गौतम बुद्धलाई निषेधात्मक शब्द प्रितिकर थियो तसर्थ बुद्धलाई परमात्मा शून्यमा उपलब्ध भयो।वुद्धले मोक्षको लागि नाम चुने अर्थात निर्वाणमा बुद्धको जोड थियो। नेगेटिभ वा नकारात्मक अन्तरमुखीको जोड हो। दुनियामा अन्तरमुखी व्यक्ति नकारको भाषा बोल्छन अर्थात यो पनि हैन उ पनि हैन। अन्तरमुखी व्यक्ति त्यस जग्गामा पुग्छन जब त्यहाँ केही पनि बाँकी छैन।
 
बहिर्मुखी व्यक्तिले पोजेटिभ भाषा बोल्छन यो पनि त्यो पनि र उनीहरु त्यस जग्गामा पुग्छन जब त्यहाँ केही बाँकी रहँदैन।बहिर्मुखी व्यक्ति बढदै बढदै सारा ब्रह्ममा एक हुन पुग्छ।उसको साधना बढदै बढदै त्यस जगहमा पुग्छ जहाँ वाहिर केही वाँकी रहँदैन।सारा वाहिर उसलाई एकात्मक हुन्छ । जुन दिन सारा वाहिर एकात्मक हुन्छ त्यस दिन भित्र पनि केही रहँदैन र वाहिर पनि केही रहँदैन।वाहिरको साथमा एक भएर स्वयमको साथमा सत्यको प्राप्ति हुन्छ।
 
अत प्रत्येक व्यक्तिले आफूभित्र हेर्नु पर्दछ। व्यक्तिको आफ्नो रुची, आफ्नो स्वधर्म, आफ्नो लगाव विधायक छ वा सकारात्मक छ निषेधात्मक छ वा नकारात्मक छ अर्थात पूर्णको साथ छ वा शून्यको साथ छ हेर्नुपर्छ।कुनै व्यक्ति भावले भरिएको ईमोसनल हुन्छ अर्थात भावुक हुन्छ उसलाई पूर्णको भाषा स्वीकार्य हुन्छ। कोही व्यक्ति धेरै वौद्धिक वा ईन्टिलेक्चुवल हुन्छ उसलाई नकारको वा ईन्कारको भाषा स्वीकार हुन्छ। वौद्धिकता वा तर्कले ईन्कार गर्छ वा काटछ।यो पनि वेकार भन्छ उ पनि वेकार भन्छ।यसर्थ व्यक्ति आफूले  यात साँख्य अर्थात ज्ञान रोज्नुपर्छ यात योग रोज्नुपर्छ यी दुई मार्गबाट पुग्ने गन्तब्य एकै हो।
 
४ वर्ण व्यवस्था र व्यक्ति
हिन्दुधर्मशास्त्र अनुसार मनिषीहरुले व्यक्तिलाई चार प्रकारमा बाँडेका छन जसलाई चार वर्ण पनि भनिन्छ। वर्णको सत्यमा नीच उचको भेद हुदैन।वर्णमा व्यक्तित्वको भेद छ।यो कुनै जात हैन व्यक्तित्वको प्रकार हो।स्त्री र पुरुषको भेद वायोलोजिकल अर्थात जैविक भेद हो भने चार वर्णको भेद अर्थात ब्रह्माण,क्षत्रिय वैश्य र शुद्रको भेद मोनोवैज्ञानिक भेद हो।वर्णको धारणा तुलनात्मक नभई तथ्यात्मक हो।जन्मजात बर्णको कुरा यो होईन यो वर्णको मनोवैज्ञानिक तथ्यको कुरा हो।
 
पहिलो वर्ग ब्रह्माण हो।ब्रह्माणको अर्थ यो हो की जुन व्यक्तिको सारा समर्पण वौद्धिक अर्थात ईन्टेलेक्चुअल हुन्छ।जुन व्यक्तिको सारा प्राणको उर्जा बुद्धिमा रुपान्तरित हुन्छ र जसको जिवनको सारा खोजी ज्ञानको हुन्छ।धन, पद, प्रतिष्ठा, सुख सयल सारा छोडेर केवल सत्यको खोजिमा,शान्ति र आनन्दको खोजमा आफूलाई समर्पित गर्ने व्यक्ति ब्रह्माण हो।
 
दोस्रो वर्ग क्षत्रिय हो।क्षत्रियको आकाँक्षाको स्रोत शक्ति वा पावर हो।यस्ता प्रकृतिका व्यक्तिको सारा जिवन शक्तिको खोजीमा लागेको हुन्छ।
तेस्रो वर्ग वैश्य हो।यस वर्गको महिमा धन हो।यस्ता प्रकारका व्यक्तिको जिवनको सारा उर्जा धनप्राप्तिमा र धनको खोजमा लागेको हुन्छ।धनको आसपासमा आफ्नो सारा व्यवस्था निर्मित गरेका हुन्छन।यी व्यक्तिको मोक्ष पनि धनको रुपमा देखिन्छ।
 
चौथो वर्ग शुद्र हो। शुद्रको अर्थ हो प्रमादी तथा सुतेको व्यक्ति हो। आलस्य हो र तमसले घेरिएको व्यक्ति हो।यस प्रकृतिका व्यक्तिलाई ज्ञानको, शक्तिको, धनको कुनै अर्थ र प्रयोजन हुदैन ।केवल आफ्नो सारा जिवन सेवा वा सर्भिसको आसपासमा लगाएका वा समर्पित गरेका हुन्छन ।
 
अत ब्रह्माणको आकाँक्षा शान्ति वा ज्ञानको हो भने क्षत्रियको आकाँक्षा शक्तिको हो ।त्यसैगरी वैश्यको आकाँक्षा धनको हो भने शुद्रको आकाँक्षा सेवाको हो।
सत्गुरु ओशो भन्नुहुन्छ, बर्हिमुखी व्यक्ति क्षत्रिय हुन्छ भने अन्तर्मुखी व्यक्ति क्षत्रिय हुन सक्दैन।यदी अन्तर्मुखी व्यक्ति क्षत्रियको घरमा जन्म लियो भने पनि उ क्षत्रिय रहन सक्दैन। महाविर क्षत्रियको घरमा पैदा भए तर उनी अन्तरमुखी थिए। वाहिरको जगत उनलाई कुनै अर्थपूर्ण लागेन।बुद्ध क्षत्रियको घरमा पैदा भए तर उनी क्षत्रिय रहन सकेनन।वाहिरको विस्तार र कर्मको जाल उनलाई वेईमानीपूर्ण लाग्यो त्यसैले उनले दरवार छोडे। परशुराम ब्रह्मणको घरमा पैदा भए तर उनी ब्रह्मण रहन सकेनन उनी क्षत्रिय भए।क्षत्रिय अनिवार्य रुपमा बहिर्मुखी हुन्छ र क्षत्रिय भएर नै उसले सफलता प्राप्त गर्छ।क्षत्रिय बर्हिमुखताको प्रतिक हो भने ब्रह्माण अन्तरमुखताको प्रतिक हो।
 
अन्तरमुखता पूरै फूल्यो भने त्यस व्यक्तिमा ब्रह्म फलित हुन्छ र अन्तरमुखता फूलेन भने त्यसमा शुद्र फलित हुन्छ। बहिर्मुखता पूरै फूल्यो भने त्यो क्षत्रिय फलित हुन्छ र बहिर्मुखता फुल्न सकेन भने त्यो वैश्य फलित हुन्छ। अन्तरमुखता एक सिढी हो जो पहिलो सिढीमा हुन्छ त्यो शुद्र हुन्छ भने अन्तिम सिढीमा पुग्यो भने ब्रह्माण हुन्छ अर्थात ब्रह्म प्राप्ति हुन्छ। बहिर्मुखता पनि एक सिढी हो जो पहिलो सिढीमा रहन्छ त्यो वैश्यमै रहन्छ र जो अन्तिम सिढीमा पुग्छ त्यो क्षत्रिय हुन्छ। जन्मले कोही पनि ब्रह्माण, क्षत्रिय, वैश्य र शुद्र हुँदैन। ब्रह्माणमा पनि शुद्र पैदा हुन्छ र शुद्रमा पनि ब्रह्माण पैदा हुन्छ। त्यसैगरी क्षत्रियमा पनि वैश्य पैदा हुन्छ र वैश्यमा पनि क्षत्रिय पैदा हुन्छ। क्षत्रिय पतित भयो भने वैश्य हुन्छ र वैश्य विकसित भयो भने क्षत्रिय हुन्छ।
 
महाविर क्षत्रियको घरमा जन्मेका थिए उनी अन्तरमुखी थिए र उनको यात्रा ब्रह्माणको थियो।त्यसैगरी बुद्ध क्षत्रियको घरमा जन्म लिएका थिए उनको यात्रा ब्रह्माणको थियो र उनले ब्रह्मज्ञान प्राप्त गरे। बुद्ध भन्नुहुन्छ जसले ब्रह्मको जान्यो त्यही ब्रह्माण हुन्छ। बुद्ध र महाविर जन्मले क्षत्रिय भए तापनि उनीहरुको व्यक्तित्व ब्रह्माणको थियो। बुद्ध र महाविरको यात्रा अन्तरयात्राको थियो र उनीहरु अन्तरमुखी थिए। उनीहरुले वाहिरी जगतलाई छोडेर आफूभित्र ध्यान र समाधिमा लिन भए। ब्रह्माण अन्तरमुखताको श्रेष्ठतम स्थिति हो। जन्मदा सारा व्यक्ति दुई प्रकारका यात शुद्र हुन्छन यात वैश्य हुन्छन। जव विकसित हुन्छन अर्थात रुपान्तरण हुन्छन वा उनीहरुले उपलब्धी प्राप्त गर्छन तब दुई तरहकै ब्रह्माण वा क्षत्रिय हुन्छन। जुन व्यक्ति विकसित हुन पाउदैन त्यो शुद्र वा वैश्यमै रहन्छ।
 
जुन व्यक्ति क्षत्रिय हुन सक्दैन अर्थात वैश्यबाट रुपान्तरण हुन सक्दैन त्यो व्यक्ति बैश्यमै रहन्छ।त्यस्तो रुपान्तरण हुन नसकेको वैश्य व्यक्तिको आकाँक्षा क्षत्रिय हुने वा शक्तिको हुन्छ तर उ वैश्यमै रहन्छ। आफ्नो आकाँक्षा पूरा गर्न धनद्धारा शक्ति आर्जन गर्न खोज्छ। उदाहरणको लागि हाम्रो देशमा पनि कतिपय व्यक्तिले पदलाई पैसाले किनिरहेको देखेका छौ। साँसद हुन होस वा मन्त्री हुन वा कुनै पनि निकायका प्रमुख वन्न वा न्यायाधिश बन्न पैसा दिएर पद प्राप्त गरेको देखिन्छ जुन धनले शक्ति आर्जन गरेको अबस्था हो। शुद्रको आकाँक्षा ब्रह्माण हुने हुन्छ तर शुद्र विकसित वा रुपान्तरित भएमा ब्रह्माण हुन्छ र यदी शुद्र विकसित हुन सकेन भने उ शुद्रमै रहन्छ र आलसी हुन्छ वा आलस्यको अबस्थामा पुग्छ। कुनै व्यक्ति बहिर्मुखी हुन पाएन भने उ अन्तरमुखी पनि रहन सक्दैन र बिचमा खडा रहन्छ।त्यस्तो व्यक्तिको आलस्य,तमस, प्रमाद उसको जिन्दगी हुन्छ। त्यस्तो व्यक्ति नत बाहिरको यात्रामा जान सक्छ नत भित्रको यात्रामा जान सक्छ उ बिचमै रहन्छ। जसले केही पनि गर्दैन त्यो व्यक्ति नत बाहिरको यात्रामा हुन्छ नत भित्रको यात्रामा हुन्छ अर्थात न बहिर्मुखी हुन्छ नत अन्तर्मुखी हुन्छ।उ केवल अध्यारोमा हुन्छ उसलाई विकृति र विसंगतीले घेरेको हुन्छ।
 
अत शुद्र ब्रह्माण बनेमा हितकर हुन्छ यो यात्रा आन्तरिक यात्रा हो।तर हाम्रो समाजमा शुद्रले ब्रह्माणलाई खिचेर शुद्र नै बनाउने चेष्टामा लागेको हुन्छ  तर यो आत्मघाती हुन्छ। कुनै ब्यक्ति बहिर्मुखी छ भने त्यो व्यक्ति यात क्षत्रिय बन्न सक्छ यात वैश्यमै रहन्छ। कुनै व्यक्ति अन्तरमुखी छ भने यात शुद्रमै रहन सक्छ यात रुपान्तरण भएर ब्रह्माण बन्न सक्छ। व्यक्ति जन्मदा शुद्र नै हुन्छ वा शुद्र प्रकृतिबाट नै हुन्छ।शुद्र हुन केही प्रयास गर्नु पर्दैन। तर शुद्रबाट ब्रह्माण हुन रुपान्तरण हुनु पर्छ वा साधना गर्नु पर्छ।त्यसैगरी व्यक्ति जन्मदा वैश्य नै हुन्छ वा वैश्य प्रकृतिबाट नै भएको हुन्छ। वैश्य हुन मेहनत गरिरहनु पर्दैन। तर वैश्यबाट क्षत्रियमा रुपान्तरण हुन श्रम वा मेहनत आवाश्यक पर्छ।
 
अन्तमा भन्दा खासगरी यथार्तमा कोही व्यक्ति एकदम पूर्ण बहिर्मुखी र एकदम पूर्ण अन्तर्मुखी हुन सक्दैन।यो सालाखाला विभाजन मात्र हो।व्यक्तिमा मिश्रण हुन्छ। कुनै व्यक्ति अन्तर्मुखी र कुनै व्यक्ति बहिर्मुखी हुन्छ तर मात्रामा फरक पर्छ। कोही व्यक्ति नब्बे प्रतिशत बहिर्मुखी भयो भने दश प्रतिशत अन्तर्मुखी हुन्छ। कोही व्यक्ति नब्बे प्रतिशत अन्तर्मुखी हुन्छ भने दश प्रतिशत बहिर्मुखी अबस्य पनि हुन्छ। व्यक्ति यतार्थमा मिश्रित हुन्छ। शुद्ध रुपमा सय प्रतिशत अन्तरमुखी र सय प्रतिशत बहिर्मुखी व्यक्ति कमै हुन्छ। ओशो भन्नुहुन्छ सय प्रतिशत अन्तरमुखी भएको व्यक्ति एकक्षण पनि जिउन सक्दैन तत्काल उसको मृत्यु हुन सक्छ। व्यक्तिलाई भोजन गर्न होस वा स्नान गर्न तथा विविध कार्य गर्नको लागि वाहिर जानै पर्छ।
 
त्यसैगरी पूर्णरुपमा सय प्रतिशत  बहिर्मुखी हुन्छ भने पनि उसको तत्काल मृत्यु घटित हुन सक्छ किनकी उसलाई निद्रा चाहिन्छ वा विश्राम चाहिन्छ वा कामबाट छुट्टी चाहिन्छ जसको लागि भित्र जानु पर्छ।अन्यथा व्यक्तिको अन्तरजिवनको स्रोतसित सम्बन्ध टुटछ र उ समाप्त हुन्छ। यसर्थ यो विभाजन सैद्धान्तिक मात्र हो र व्यक्ति व्यक्तिमा मात्राको फरक हुन्छ।कोही व्यक्ति नब्बे प्रतिशत बहिर्मुखी हुन सक्छ भने दश प्रतिशत अन्तरमुखी हुन्छ।बहिर्मुखी व्यक्तिको सारा जिवन केही काम गर्नमा अर्थात दोस्रोको ध्यानमा,प्रतियोगीतामा,प्रतिस्पर्धामा वा संघर्षमा बित्छ।
 
यसर्थ  हामी जन्मदा सबै व्यक्ति वैश्य वा शुद्र प्रवृति वा स्वभावको रुपमा जन्मेका हुन्छौ तर वैश्यबाट क्षत्रिय हुन वा शुद्रबाट ब्रह्माण हुन अर्थात रुपान्तरण हुन हामीहरुले श्रम, मेहनत, अभ्यास वा साधना गर्नु आवाश्यक हुन्छ । हामीले आफ्नो स्वभाव चिनेर सोही अनुरुपको शिक्षा लिएर सोही अनुरुपको पेशा छनोट गर्न सक्यौ भने जहाँसुकै जस्तो परिस्थितिमा पनि काम गर्दा आनन्द लिन सकिन्छ।त्यसैगरी आफ्नो घर परिवार छिमेक तथा समाजमा जहाँसुकै होस हामीले अन्य व्यक्तिको प्रकार वा स्वभाव बुझेर सोही अनुकूलको व्यवहार दोस्रोसंग गर्ने प्रयास गर्यौ भने यसबाट परिवार र समाजमा सौहाद्रता कायम राख्न मद्यत पुग्दछ।
 
हामी आफू शुद्र प्रवृतिका छौ भने आफूलाई रुपान्तरण गरेर ब्रह्माण हुने अभ्यासमा लागौ र यदी वैश्य प्रवृतिका छौ भने रुपान्तरण हुने अभ्यास गरी क्षत्रिय हुने प्रयासमा लागौ।  
 
स्रोत सामाग्रीः ओशो गीता दर्शन भाग १,ओशो तपोवन प्रकाशन । ओशो कर्म योग भगवत गीताका मनोविज्ञान भाग ३ फ्युजन बुक्स। गीता दर्शन श्रीमदभगवत गीतामाथि ओशोले दिनुभएको प्रवचनहरुमध्येबाट संक्षिप्तिकृत संकलन, मधुवन प्रकाशन