रुसी सेनामा गएका आफन्तको उद्धारको माग गर्दै अनसन

बैशाख १५,२०८१

-आस्था न्यूज

बैशाख १५, २०८० काठमाडौं ।
रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले आफन्तको उद्धारको माग राख्दै सामूहिक अनसनलाई जारी राखेका छन् । 
 
शुक्रबारदेखि काठमाडौँको माइतीघरमा सुरु भएको अनसन अहिले रत्नपार्कनजिकै शान्तिवाटिकामा जारी छ । उनीहरूले दबाब बढाउनको लागि बालुवाटारस्थित रुसी राजदूतावास अगाडि पुगेर पनि अनसन गरिसकेका छन् ।  
 
उक्त अनसनमा रहेकी पीडित कृतु भण्डारीले नौ दिनदेखि आमरण अनसनमा बसेपनि सरकारको तर्फबाटै केही पनि प्रतिक्रिया नआएको बताइन् । 
 
उनले भनिन्, ‘सरकार पक्षको तर्फबाट केही पनि प्रतिक्रिया आएको छैन । हामी आशावादी छौँ । जबसम्म हाम्रो मागहरू सम्बोधन हुँदैन तबसम्म यहीँ रहन्छौ । जस्तो अवस्था आए पनि हाम्रो अनसन तोड्ने छैनौँ ।’ 
 
रुसी सेनामा रहेका ६९१ जनाको विवरण सङ्कलन गरेको भन्दै चार सयभन्दा बढी मानिस सम्पर्कमा रहेको र अरू सम्पर्क विहीन रहेको भण्डारीले जानकारी पनि दिइन् । 
 
उनले भनिन्, ‘रुसमा रहेका ४ सयभन्दा बढी मानिस मसँग प्रत्यक्ष सम्पर्कमा छन् । उनीहरूले पनि दलालले प्रलोभनमा पारेर रुसमा लगेको भन्दै छिटोभन्दा छिटो उद्धार गर्न माग गरिरहेका छन् । २ हजारभन्दा बढी परिवार हामीसँग सम्पर्कमा छन् । हामीले विवरण पनि सङ्कलन गरेका छौँ । त्यसमा ६९१ जनाको विवरण सङ्कलन भएको छ, ती मध्ये ३९ मृतक, ४० जना मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी, ११७ जना घाइते, २७२ जना लामो समय परिवारको सम्पर्कमा नआएको छन् । १५ जना व्यक्तिहरू करार सम्झौता रद्द गरेर बसेका छन् । त्यो बाहेकका व्यक्ति सम्पर्कमा छन् ।’ 
 
तीन जनाले आमरण अनसन जारी राखेका छन् भने ६० जना अन्य रिले अनसनमा सहयोग गरिरहेको भण्डारीले बताइन् । 
 
यस्तै, अर्का पीडित किसन थापाले भने जति र देखे जति सबै निकायमा गए पनि प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन् । उनले भने, ‘नौ दिन भइसक्यो पानी पनि नखाई बसेको । भने जति र देखे जति सबै निकायमा गइसकेको छु । कुनै बाँकी रहेको छैन, त्यही पनि केही गरेको जस्तो देखिँदैन ।’ 
 
उनीहरूले  सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्याङ्क सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउन व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन् ।