नारायणगढ-मुग्लिन सडक कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम पुल निर्माण

बैशाख २७,२०८१

-आस्था न्यूज

बैशाख २७, २०८१ काठमाडौं ।
नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।
 
नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको उनले बताए । 
 
खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले धेरै समय लाग्ने भएको हो । इन्जिनियर आचार्य कात्तिक मसान्तसम्ममा  तुइन खोलाको काम सकिने बताउछन्। यो सडकखण्डमा १९ वटा पुल छन् । 
 
विश्व बैंकको ऋण सहयोगमा ती पुल निर्माण गरिएका हुन् । इन्जिनियर आचार्यका अनुसार सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । 
 
पुलसमेत ११ मिटर फराकिलो बनाइएको छ । तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । विगतका वर्षहरुमा पहिरोको कारण वर्षायाममा धेरै सास्ती बेहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिला भएसँगै केही सहज हुँदै आएको छ ।